काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पछिल्लो समय एकपछि अर्को आरोहीको मृत्यु भएको खबर सार्वजनिक भैरहेको छ । जारी सिजनको पछिल्लो दुई हप्तामा मात्र ११ जना आरोहीको सगरमाथा आरोहणका क्रममा मृत्यु भैसकेको छ ।

यसरी आरोहीको मृत्यु हुनुको कारण कुनै दुर्घट्ना वा खराब मौसम नभई अर्कै कारण रहेको खुलासा भएको छ । विविसीका अनुसार सगरमाथा आरोहणका क्रममा अक्सिजन सिलिण्डरको अभावमा आरोहीको मृत्यु हुने गरेको रहस्य सार्वजनिक गरेको छ । सगरमाथा आरोहीहरुबाटै ग्याँस सिलिण्डर,खाना लगायत चोरी हुने गरेको खबरले नेपालको पर्वतारोहण क्षेत्र नै बद्नाम हुन थालेको छ ।

पर्वतारोही मोजडेलले सगरमाथा नजिकै रहेको ल्होत्से हिमाल आरोहणका क्रममा आफ्नो ग्याँस सिलिण्डर चोरले चोरेर लगेको गुनासो सुनाएपछि सगरमाथा लगायतका हिमाल आरोहणका क्रममा हुने गरेको चोरीको रहस्य खुलेको हो । सामाजिक सञ्जाल मार्फत उनले यस्तो रहस्य सार्वजनिक गरेका हुन् ।

जारी सिजनमा मात्र ११ जना आरोहीको ज्यान गएको छ । तर नेपाल सरकारले ६ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । अक्सिजन सिलिण्डर चोरीका कारण मृतकको संख्या बढेकोप्रति भने नेपाल सरकार अझै अनविज्ञ छ ।

नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका अध्यक्ष प्रभु नामग्याल शेर्पा भन्छन्–यदि चोरले टेन्टको ताल्चा फोडेर अक्सिजन सिलिण्डर,खाना र भान्छाको ग्याँस लैजान्छन् भने त्यसलाई चोरी नभनेर के भन्ने ? उनको भनाइमा सगरमाथा लगायतका हिमाल आरोहणमा यस्तो चोरी हुनु चलन जस्तै भैसकेको छ । तर यस्तो चोरीको अभियोगमा अहिलेसम्म एकजना पनि पक्राउ भने परेका छैनन् । कुनै किसिमको खतरा मोल्न नसक्ने आरोहीहरु नै यस्ता चोरीमा संलग्न हुने गरेको धेरैको आशंका छ । माथिल्लो क्याम्पहरुमा चोरी गरेर तल्लो क्याम्पमा किनबेच हुने प्रवृत्ति पनि मौलाउँदै गएको स्वयम् आरोहीहरु बताउँछन् । नीमा तेन्जी भन्छन्–बेस क्याम्प सबैभन्दा ठूलो चोर बजारको रुपमा स्थापित हुँदैछ ।

यस्तो घट्नाका कारण कति आरोहीहरु शिखरमा पुग्नु अगावै फर्कन बाध्य छन् । किनभने साथमा बोकेर लगेको अक्सिजन सिलिण्डर सकिन थालेपछि ज्यानको मायाले पनि फर्कन जोसुकैलाई करै लाग्छ ।

सगरमाथा आरोहणका लागि कम्तीमा एकजनालाई ७ सिलिण्डर अक्सिजन आवश्यक पर्छ । यसमा पनि आरोहीहरुले फरक फरक किसिमले अक्सिजनको खपत गर्छन् । छिटो छिटो सास फेर्दा अझ छिटो अक्सिजनको खपत हुने आरोहीहरु बताउँछन् ।

Comments

comments