काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा पुनः अर्को एक पर्वातारोहीको निधन भएको छ ।

सगरमाथाको आधार शिविर जाने क्रममा सिंगापुरकी पदयात्री वाङ कुम लिङ मेइको शुक्रबार निधन भएको हो । ४७ बर्षीया वाङ कुमको पाँच हजार एक सय मिटरको उचाईमा रहेको लवुचेमा चिसोका कारण निधन भएको बताइएको छ ।  उहाँ बुधवारदेखि विरामी पर्नुभएको थियो ।

लाङटाङ रिट्रेक कम्पनीबाट पदयात्रामा जानु भएकी वाङ कुमको शुक्रबार बिहान निधन भएको हो । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित लवुचेमा उहाँको निधन भएको हो ।

लवुचेबाट फिरेचे करीव एक घण्टाको दुरीमा रहेको छ । उहाँलाई फिरिचेमा रहेको अस्पतालसम्म नपुरयाइएको पदयात्रामा रहेका उहाँका साथीले प्रहरीलाई जानकारी गराएका छन् । वाङ कुमको साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । वाङ कुमको शव काठमाडौ ल्याउने तयारी भइरहेको छ । पछिल्लो १० दिनमा सगरमाथामा ११ आरोहीको मृत्यु भएको छ ।

Comments