मेलबर्न । अष्ट्रेलियामा प्रयोगात्मक र व्यवसायिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था ‘करियर्स अष्ट्रेलिया’ भल्यूनटरी एड्मिनिस्ट्रेसनमा गएको छ । यसबाट अष्ट्रेलियामा रहेका १३ क्याम्पसहरु प्रभावित भएका छन् ।

भल्यूनटरी एड्मिनिस्ट्रेसनमा गएपछि करिब एक हजार जना कर्मचारीहरु बेतलब भएका छन् । कर्मचारीहरुलाई दिईएको सूचनामा संस्थासंग तलब दिनको लागि पर्याप्त पूंजी नभएको उल्लेख गरिएको छ ।

त्यस्तै १५ हजार विद्यार्थीहरुको भविष्य अन्योलमा पुगेको छ । बिहीबार करियर अष्ट्रेलिया अन्तर्गत रहेका शैक्षिक संस्थाहरुमा पढ्ने विद्यार्थीहरुलाई सन्देश मार्फत सम्पूर्ण कक्षाहरु हालको लागि बन्द गरिएको जानकारी दिईएको हो ।

अघिल्लो महिना संघीय राज्यले प्रयोगात्मक शिक्षण योजना नदिने घोषणा गरेपछि करियर्स अष्ट्रेलियाको यस्तो अवस्था सिर्जना भएको हो । त्यसपछि करियर्स अष्ट्रेलियासँग जोडिएका विभिन्न तथ्यहरु बाहिर आउन थालेका हुन् ।

करियर्स अष्ट्रेलियाले ’सेल्स म्यान’ लाई घररघरमा पठाउने र विशेष गरि पढाई छुटेकाहरुलाई प्रभावमा पारेर भर्ना गराउने गरेको थियो । घरघरमा पुगेर मानिसहरुलाई कामको रुपमा प्रयोगात्मक शिक्षा दिने, त्यहि कामकै अवधिमा पैसा कमाएर कलेजलाई तिर्न सक्ने तर यदि पैसा नकमाएको खण्डमा सबै पैसाको भरपाई विद्यार्थीले पछि गर्नुपर्ने भन्दै भर्ना लिने गरिएको थियो ।

Comments

comments