ब्राजिल । ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् ।

तनावग्रस्त राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न भनी राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिनु भएको छ ।

प्रदर्शनकारीहरुको प्रमुख माग राष्ट्रपति टेमरको राजिनामा वा बरखास्ती रहेको छ । राजधानी ब्राजिलियामा दशौं हजार जनताको एक बिशाल जुलूसले नाराबाजी गर्दै यहाँ अवस्थित संसद भवन घेराउ गरेका छन् ।

राष्ट्रपति टेमरले केही समय अघि लागु गर्नु भएको आर्थिक सुधारका कार्यक्रमप्रति कडा बिरोध जनाउँदै जन प्रदर्शन भएको र उहाँ स्वयं भ्रष्टाचारको काण्डमा मुछिएको आरोप लगाउँदै तत्काल राजिनामाको माग गरिएको हो ।

प्रदर्शनकारीहरुले राजधानीका कतिपय सडकहरुमा टायर बालेर, घुम्ती मोबाइल शौचालयका छाप्राहरु तेस्र्याएर दङ्गा नियन्त्रण गर्न खटिएका प्रहरीहरुको मार्ग अवरुद्ध पारेका छन् ।

आक्रोशित प्रदर्शनकारीहरुले कृषि मन्त्रालयमा आगजनी गरेका र प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न अर्ध–सैनिक प्रहरीहरुले हावामा बन्दूक पड्काएका र ठाउँ ठाउँमा अश्रु ग्याँस हानेका दृश्यहरु स्थानीय सञ्चार माध्यमहरुले भिडियो क्यामेरामा खिचेर सार्वजनिक गरेका छन् ।

एक ठाउँमा गोली लागेर एकजना प्रदर्शनकारी घाइते भै ढलेको देखिएको तर सो गोली कसले हानेको हो  पुष्टि भै नसकेको जनाइएको छ । सैनिक वा प्रहरीलाई गोली हान्ने आदेश नदिएकोमा यस्तो घटना हुन गएकोमा अनुसन्धान भै रहेको भन्दै सरकारी जन सुरक्षा सचिबालय पन्छिएको छ ।

उग्र जनप्रदर्शनबाट उत्पन्न यस जोखिमपूर्ण अवस्थामा राष्ट्रपतिको कार्यालय र निवास परराष्ट्र मन्त्रालयलगायत सरकारी संघीय भवनहरुका सुरक्षाका लागि सेनाले पहरा दिएको तर आन्दोलनकारीहरुमाथि गोली हान्ने आदेश नदिएको भनी राष्ट्रका नाममा गरेको एक छोटो सम्बोधनको क्रममा रक्षा मन्त्री राउल जङ्गम्यानले बताएका छन् ।

ब्राजिलको अर्को ठूलो महानगर रियो डि जानेरोमा पनि राष्ट्रपति टेमर र उहाँले लागु गर्नु भएको अर्थिक सुधार वा मितव्ययिताको कार्यक्रमको बिरोधमा ब्यापक जनप्रदर्शन र प्रहरीसँग झडप भएको जनाइएको छ ।

ब्राजिलको संसद पनि राष्ट्रपतिको समर्थन र बिरोधमा बिभाजित भै दुई फ्याक भएको जनाइएको छ । बहूसङ्ख्यक विपक्षी सांसदहरुले राष्ट्रपति टेमरको तत्काल राजिनामाको माग गर्दै संसदीय कारबाहीहरु नै अवरुद्ध पारेका छन् ।

वर्तमान राष्ट्रपति टेमर पदीय निवार्चनमा बिजयी भएर आउनु भएको नभै महाअभियोग लागेर हटाइनु भएकी पूर्व राष्ट्रपति दिल्मा रुसेफको सट्टा काम चलाउन मात्र कुर्सीमा आसीन भएको, राष्ट्रपतिको पदभार ग्रहण गरेको केही समय भित्रै प्रत्यक्ष वा परोक्ष रुपमा ठूला ठूला आर्थिक भ्रष्टाचारका काण्डमा मुछिनु भएको हो । रासस /एपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments