मेलबर्न । अष्ट्रेलियाको संघीय सरकारले ४५७ भिसाको प्रावधानमा परिमार्जन गरेपछि दक्ष जनशक्तिको अभाव हुन थालेको छ ।

भिसा अवधि ४ वर्षबाट घटाएर २ वर्षमा सीमित गरेपछि अष्ट्रेलियाका कम्पनीहरुले दक्ष जनशक्तिको अभाव खेप्न परेको हो । विशेष गरेर मेडिकल क्षेत्रमा जनशक्तिको अभाव देखिन थालेको एसबिएस न्यूजले जनाएको छ । पछिल्लो महिना मात्र कम्तीमा ६ वटा संस्थाहरुले राखेको रोजगारीको प्रस्ताव विदेशी विशेषज्ञहरुले अस्वीकार गरेको समाचारमा उल्लेख छ ।उनीहरु सबैले भिसाको समस्या देखाउँदै रोजगारी अस्वीकार गरेको एसोसियसन अफ अष्ट्रेलियन मेडिकल रिसर्च इन्ष्टिच्यूटका सभापति टोनी कनिङगमले बताए । यसरी विशेषज्ञहरुको अभाव हुनु मेडिकल क्षेत्रकालागि दुखद मात्र होइन सोचनीय विषय भएको कनिङगमको भनाइ छ ।

अहिले कार्यरत विशेषज्ञहरु पनि सरकारको नयाँ व्यवस्थाका कारण अबको २ वर्षपछि फर्कनेछन् । त्यसपछिको अवस्था कल्पनाबाहिरको छ,सभापति कनिङगम बताउँछन् । अष्ट्रेलियाका स्वास्थ्य क्षेत्रमा कार्यरत विदेशी विशेषज्ञहरुको संख्या अत्याधिक रहेको छ । तर सरकारले मे १ देखि लागू हुने गरि ४५७ भिसाको प्रावधानमा संशोधन गरेपछि विदेशी जनशक्तिहरु फर्कनुपर्ने अवस्था आएको छ । अष्ट्रेलिया सरकारले ४५७ भिसाबाट दर्जनौं पेशाको सूची हटाउनुको साथै ४ वर्षे भिसा अवधिलाई घटाएर २ वर्ष मात्र बनाएको छ । यसले गर्दा अष्ट्रेलियाले प्रतिभाशाली विदेशी जनशक्तिलाई गुमाउनुपर्ने अवस्था आएको छ ।

एसोसियसन अफ अष्ट्रेलियन मेडिकल रिसर्च इन्ष्टिच्यूटका अधिकारीहरुले यस्तो विषम परिस्थितिबारे अद्यागमन विभागको ध्यानाकर्षण गराएका छन् । उनीहरुले ४५७ मा हालै गरिएको संशोधन र परिमार्जनबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । यसैबीच अद्यागमन मन्त्री पिटर डट्टन पनि यसबारेमा पुनर्विचार गर्न सकारात्मक रहेको समाचारमा उल्लेख छ ।

Comments

comments