काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ८ गते राजीनामा दिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाउनुभएको हो । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिन लाग्नुभएको हो ।

जेठ ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने प्रधानमन्त्री दाहालको तयारी रहेको निकटस्थ स्रोतले बतायो । संसदको हिउँदे अधिवेशन बिहीबार या शुक्रबार सम्पन्न हुँदैछ । त्यस लगत्तै ८ गते वर्षे अधिवेशन बोलाएर त्यसै दिन संसद्लाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने योजना रहेको स्रोतको भनाइ छ । दोस्रो चरणको स्थानीय तहको चुनाव नयाँ सरकारले गर्नेछ ।
गत साउन १९ गते प्रधानमन्त्री नियुक्त दाहालले साढे ९ महिनापछि कांग्रेससँग भएको सहमति पालना गर्दै यही गठबन्धनलाई निरन्तरता दिने चाहनाले राजीनामा दिन लाग्नुभएको हो । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन निर्माणकै बेला आलोपालो सरकारको नेतृत्व लिने लिखित समझदारी भएको थियो ।

सार्वजनिक नगरिएको ५ बुँदे उक्त समझदारीको ३ नम्बर बुँदामा आलोपालो सरकारको नेतृत्वबारे उल्लेख छ, जसमा दाहालले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने भन्ने छ ।

सहमतिअनुसार कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाटै सरकार बन्नेछ । देउवा नेतृत्वको सरकारले स्थानीय तहको जेठ ३१ को दोस्रो चरणको चुनाव गराउने छ ।

Comments