काठमाडौं । स्थानीय तह निर्वाचन  अन्तर्गत आइतबार मतदान भएका २ सय ८१ वटा स्थानीय तह मध्ये २ सय ५० वटाको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अहिले २ सय ५० स्थानीय तहको मतगणना भईरहेको छ ।

मतपेटीका संकलनमा ढिलाई भएको तथा सामान्य विवादका कारण केही स्थानमा समयमै मतगणना सुरु हुन नसके पनि अन्य स्थानहरुमा भने शान्तिपूर्ण ढंगले मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
केही हिमाली जिल्लाहरुमा भने वर्षा भएकाले मतपेटिका संकलन गर्न कठिनाई भएकाले मतगणना गर्न नसकिएको र मौसममा सुधार आउने साथै हेलिकप्टरबाट मतगणना केन्द्रसम्म पुर्याइने र मतगणना सुरु गरिने पनि निर्वाचन आयोगले जनाएको छ ।

आयोगले एउटै मतपत्रमा सात जनाप्रतिनिधिको गणना गर्नुपर्दा ढिलाई भएको भन्दै अहिले सम्म औपचारिक मतगणनाको परिणाम प्राप्त नभएको जनाएको छ । पुनः मतदान गर्नुपर्ने स्थानमा सोही स्थानमा खटिएका निर्वाचन अधिकृतले मतदानको मिति तोक्ने र उम्मेदवारको मृत्यु भएको कालिकोट, नरहरिनाथ गाउपालिका वडा नम्बर ६ को निर्वाचनको मिति आयोगले तोक्ने आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगका अनुसार ४ स्थानको जीत सहित ५० स्थानमा नेकपा एमाले अगाडी, नेपाली काँग्रेस एक स्थानको जीत सहित ३० स्थानमा अगाडि र नेकपा माओवादी केन्द्र २८ स्थानमा अगाडि छ । माओवादी केन्द्रले भने अहिलेसम्म कुनै स्थानमा जीत हासिल गरेको छैन ।

Comments

comments