काठमाडौं । संविधानसभाबाट संविधान जारी भएपछि आइतबार स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय निर्वाचन २० वर्षपछि पहिलो पटक भएको हो । नयाँ संविधानअनुसार मुलुक संघीय संरचनामा गएपछि स्थानीय तहको निर्वाचन भएको हो ।

७ प्रदेशको संरचनाअनुसार ३ वटा प्रदेशमा मात्रै आइतबार निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ को ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका विहान ७ बजेदेखि मतदान शुरु भएको हो । निर्वाचन आयोगले तय गरेको समयअनुसार मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

हरेक ५ वर्षको अन्तरालमा हुने स्थानीय तहको निर्वाचन झण्डै २० वर्ष सम्म हुन सकेको थिएन । सशस्त्र द्वन्द्व तथा विविध कारणले गर्दा निर्वाचन गराउने प्रतिवद्धता हरेक सरकारले गर्दै आए पनि निर्वाचन गराउन सकेका थिएनन् । साविकका २ सय १७ नगरपालिका र ३ हजार १ सय ५७ वटा गाविस संविधानअनुसार पुनःसंरचना गरिएपछि ७ सय ४४ वाट स्थानीय तहमा परिणत भएका छन् ।

प्रदेश ३ मा १ सय १९ प्रदेश ४ मा ८५ र प्रदेश ६ मा ७९ स्थानीय तहमा आइतबार मतदान भइरहेको छ । प्रदेश ३ मा २७ लाख ६० हजार १ सय ८२ मतदाता रहेका छन् भने १ हजार ७ सय ८० मतदानस्थल तथा ३ हजार ४ सय ९० मतदान केन्द्र रहेका छन् ।

४ नम्बर प्रदेशमा १४ लाख १३ हजार ३ सय २० मतदाता रहेका छन् भने १ हजार २ सय ४७ मतदानस्थल र १ हजार ९ सय ५२ मतदान केन्द्र रहेका छन् । यस्तै, प्रदेश ६ मा ७ लाख ८३ हजार ४ सय २३ मतदाता रहेका छन् भने ८ सय ९५ मतदानस्थल तथा १ हजार १ सय ९९ मतदान केन्द्र रहेका छन् ।

प्रदेश नम्बर ३ मा ५ हजार ८ सय ४३, प्रदेश ४ मा ३ हजार ९ सय ६५ र प्रदेश ६ मा ३ हजार ७ सय ४८ जना निर्वाचित हुनेछन् ।  दोस्रो चरणमा अन्य चार प्रदेशमा जेठ ३१ गते स्थानीय तहको निर्वाचन हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments