एजेन्सी । भारतकी एक छात्राले परीक्षा दिनु अघि कलेजका अधिकारीहरुले आफूलाई ब्रा खोल्न लगाएको गुनासो गरेकी छिन् ।

भारतको केरलामा रहेको एक मेडिकल कलेजकी विद्यार्थी रहेकी उनलाई ब्राभित्र शंकास्पद बस्तु रहेको आशंकामा ब्रा खोलेर मात्र परीक्षामा सहभागी हुन दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आइतवार परीक्षा दिन पुगेकी ती छात्राको शरीरको खानतलासी लिने क्रममा मेटल डिटेक्टरले शंकास्पद बस्तुको सूचक दिएपछि अधिकारीहरुले बाहिरै ब्रा खोलेर जान भनेका थिए । समय थोरै मात्र बाँकी रहेकोले आफूले कुनै विवाद नगरि ब्रा खोलेर बाहिर रहेकी आमालाई दिएको ती छात्राले बताइन् । ब्रामा प्रयोग भएको मेटल फ्रेमका कारण मेटल डिटेक्टरले सूचक जनाएको खुलेको थियो । परीक्षा बाहिरै त्यसरी आफ्नो भित्री वस्त्र खोलेर जानुपर्दा आत्मविश्वासमा कमी आएको अनुभव भएको ती छात्राले सञ्चारमाध्यमलाई बताइन् ।

त्यसै कलेजकी अर्की एक छात्राकी अभिभावकले पनि मेटल डिटेक्टरको हवाला दिदै आफ्नी छोरीको पाइन्टको टाँक खोल्न लगाएको गुनासो गरे । पाइन्टको टाँक खोल्न भनेपछि आफूले हतार हतार ३ किलोमिटर पर रहेको कपडा पसलबाट लुगा किनेर ल्याउन परेको उनले बताए ।

कलेजका प्रिन्सिपलले भने आफ्ना छात्राहरुको भित्री वस्त्र खोल्न लगाएको घट्नाप्रति अनभिज्ञता प्रकट गरेका छन् । तर आफू नियम पूर्ण पालनाको पक्षमा भने रहेको उनले प्रष्ट पारे ।

Comments