काठमाडौँ । नेपाली नर्सका लागि बेलायत प्रवेश सहज हुने भएको छ। बेलायत युरोपियन युनियन इयूबाट छुट्टिएसँगै त्यहाँका अस्पतालमा नर्सको कमी हुन थालेपछि बेलायत सरकारले नर्स भित्र्याउन नयाँ नियम बनाएको छ। जसले नर्सहरुलाई बेलायतमा गएर नर्सिङ पेशा अपनाउन सजिलो बनाउनेछ। नयाँ नियमले नेपाल, भारत, फिलिपिन्सजस्ता देशबाट ठूलो संख्यामा नर्सहरु बेलायत प्रवेश गर्ने सम्भावनाको ढोका खुलेको छ।

यसअघि बेलायतमा नर्सिङ रजिस्ट्रेसन कोर्स गर्नका लागि नेपाली नर्सले अंग्रेजी भाषा परीक्षा ९आइएलटिएस० का सबै व्यान्डमा ७ अंक ल्याउनुपर्ने नियम थियो। परीक्षा पनि एकैपटकमा पास गर्नुपर्थ्यो। जसले गर्दा नेपाली नर्सहरुले अस्पतालमा नर्सिङ सेवा गर्ने मापदण्ड पूरा गर्नै कठिन थियो। नयाँ नियम अनुसार भने आइएलटिएसमा ६ महिनाभित्र दुई पटक परीक्षा दिएर सबै ब्यान्डमा ७ अंक ल्याए अस्पतालमा जागिर खानका लागि नर्सको मापदण्ड पूरा हुनेछ। त्यस्तै, अब नेपाली नर्सले नर्सिङ रजिस्ट्रेसन परीक्षा तीन पटकमा पास गर्न पाउने प्रावधान कायम भएको छ।

बेलायतस्थति नेप्लिज नर्सिङ एसोसिएसनका उपाध्यक्ष विनोद सिम्खडाले नयाँ नियमले नेपाली नर्सलाई बेलायत प्रवेश सहज हुने बताएका छन्। उनले स्वास्थ्यखबरसँग भने, ‘एकैपटकमा आइएलटिएसमा सबै ब्यान्डमा ७ अंक ल्याउन नेपाली विद्यार्थीलाई निकै समस्याको कुरा थियो। यसमा अपनाइएको खुकुलोपनाले नेपालबाट सयौं नर्सले बेलायत आउन सहज हुनेछ। नयाँ नियम लागू भएसँगै धेरै नेपाली नर्सले बेलायतको भिसाका लागि आवेदन दिएको पनि बुझिएको छ।’

बेलायतको नर्सिङ काउन्सिलमा दर्ता भएका नेपाली नर्सको संख्या दुई हजार ८ सयको हाराहारीमा छ। सिम्खडाका अनुसार अहिले कसैले आइएलटिएसमा ७ अंक ल्याएको छ भने नेपालबाट सोझै बेलायतको वर्क परमिट पाउने व्यवस्था छ। भिसा प्रक्रिया पनि पहिलेभन्दा सहज छ। उनका अनुसार बेलायतमा अनुमति पाएर नर्सिङ पेशा गर्नेले वार्षिक २१ देखि २४ हजार पाउन्ड स्टर्लिक तलब पाउनेछन्।

बेलायत इयूबाट बाहिरिने भएसँगै बेलायत आएर काम गर्ने अन्य युरोपेली मुलुकका ९० प्रतिशत नर्सहरु घर फर्केको तथ्याङ्कले देखाएको छ। बेलायतको नर्सिङ एन्ड मिडवाइफ काउन्सिलले सार्वजनिक गरेको यो तथ्याङ्क अनुसार गत महिना मात्रै बेलायतका विभिन्न अस्पतालमा २४ हजार नर्सको माग थियो।

बेलायतको नर्स एन्ड मिडवाइफ एसोसिएसनको तथ्याङ्क अनुसार गत वर्षको जुलाई महिनामा मात्र युरोपेली मुलुकबाट १३ हजार चार नर्सले बेलायतमा नर्सिङ पेशाका लागि नाम दर्ता गराएका थिए। तर, त्यसमध्ये एक सय एक जनाले मात्रै बेलायतमा आएर काम गरेका थिए।

Comments