एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा शीर्ष स्थानको बार्सिलोना विजयी बनेको छ ।

बार्सिलोनाले भिल्लारियललाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा एमएसएनले गोल गरे । बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा नेइमार र लुइस स्वारेजले एक एक गोल गरे । भिल्ला रियलका लागि बाकाम्बुले एक गोल फर्काए ।

२१ औं मिनेटमा नेइमारले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३२ औं मिनेटमा बाकाम्बुले भिल्लारियलका लागि बराबरी गोल फर्काए । ४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत पहिलो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–१ को अग्रता लियो । बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ मा पुर्‍याए । ८२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म ५१ गोल गरिसकेका छन् ।

जितपछि लिगका दुई खेल बाँकी हुँदा शीर्ष स्थानको बार्सिलोनाको ८४ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि ८४ अंक नै छ । उसले तीन खेल खेल्न बाँकी छ ।

Comments

comments