एजेन्सी । अष्ट्रेलियामा आप्रवासीका बाबुआमाहरुका लागि सरकारले वृद्धि गरेको उच्च भिसा शुल्कलाई लिएर उच्च आलोचना शुरु भएको छ ।

अष्ट्रेलियन नेसनल युनिभर्सिटीका अध्यागमनविज्ञ हेनरी शेरेलले भिसाको उच्च शुल्कलाई लिएर सरकारको आलोचना गरेका छन् । उनले ‘अस्थाई भिसाको लागि यो एकदमै चर्काे शुल्क भएको बताएका छन् ।

नयाँ भिसा प्रणालीको औपचारिक घोषणा सरकारले आउँदा साताको बजेट भाषणमा गर्ने भएको छ ।

नयाँ भिसा प्रणालीअनुसार आप्रवासी बाबुआमाहरु बढीमा १० वर्षसम्म मात्र अष्ट्रेलियामा बस्न पाउने भएका छन् ।
नयॉ भिसा प्रणालीअनुसार सरकारले आप्रवासी बाबुआमालाई स्थायी बसोबासको अनुमति दिइने छैन । उनीहरुको निजी स्वास्थ्य बीमाको शु्ल्क उनीहरुका छोराछोरीले तिर्नुपर्ने भएको छ ।

मालकोम टर्नबुलको सरकारको नीतिअनुसार प्रत्येक वर्ष १५ हजार व्यक्तिले एक दशकसम्मका लागि आफ्नो बाबुआमालाई अष्ट्रेलियामा ल्याउन २० हजार डलर तिर्नुपर्नेपनि छ । आप्रवासी बाबुआमाका लागि स्वास्थ्य सेवाको आर्थिक बोझ पनि उनीहरुका छोराछोरीले लिनुपर्नेछ । बाबुआमालाई अष्ट्रेलियामा लाग्ने कुनै पनि अतिरिक्त स्वास्थ्य सेवा शुल्कमा छोराछोरी आर्थिक जमानी बस्नुपर्ने प्रावधानसमेत राखिएको छ ।

नयाँ योजनाअनुसार आवेदकहरुले ५ हजार डलर तिरेर तीन वर्षका लागि वा १० हजार डलर तिरेर ५ वर्षको भिसा माग गर्न सक्नेछन् । पुनः रकम तिरेर पाँच वर्षका लागि नवीकरण गर्न पाउने सुविधा हुन्छ ।

त्यसैगरी, भिसाअन्तरगत आउनेले काम गर्न पाउने छैनन् । यद्यपि उनीहरुले परिवार सम्हाल्दा काममा जाने छोराछोरीलाई सजिलो हुने विश्वास अष्ट्रेलिया सरकारको छ ।

Comments

comments