काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार गोर्की श्रेष्ठलाई इँटा, विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनालाई स्टकोट, साझा पार्टीका उम्मेदवार किशोर थापालाई क्यामेरा र स्तन्त्र उम्मेदवार भगवान् गिरीलाई सुटकेस निर्वाचन चिह्न दिएको छ । 

निर्वाचन आयोगले शुक्रबार पूर्वनिर्धाति कार्यतालिकाअनुसार ३१ वैशाखमा हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएका तर संसद्मा नरहेका स्वतन्त्र हैसियतमा रहेका दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले संसद्मा प्रतिनिधित्व गरेका दलहरूलाई आयोगले कानुन अनुसार नै दलीय चिह्न दिने र प्रतिनिधित्व नभएका दलहरूलाई स्वतन्त्र दलको हैसियतमा स्वतन्त्र समूहबाट चिह्न दिएको बताए । ‘संविधानले निर्देश गरेबमोजिम नै चिह्न दिएको हो, संसद्मा दर्ता भएका वा प्रतिनिधित्व भएका दललाई दलको र अन्य दललाई स्वतन्त्र दलका हैसियतमा स्वतन्त्र समूहबाट चिह्न दिने स्पष्ट संविधानमै व्यवस्था छ, त्यसै अनुसार आयोगले चिह्न दिएको हो ।’ प्रवक्ता शर्माले भने ।

आयोगले दिएको निर्वाचन चिह्न अनुसार क्रान्तिकारी माओवादीका गोर्की श्रेष्ठले इँटा पाएका हुन् भने सञ्चारकर्मी रवीन्द्र मिश्रको अगुवाइमा खुलेको साझा पार्टीका उम्मेदवार किशोर थापाले क्यामरा पाए । यस्तै विवेकशील नेपालीको मेयर उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) ले स्टकोट पाएकी छिन भने स्वतन्त्र उम्मेदवार भगवान् गिरीले सुटकेस पाएका हुन् ।

विवेकशील दलले यसअघि संविधानसभाको निर्वाचनमा कुकुर चुनाव चिह्न पाएकोमा यसपटक भने कुकुर स्वतन्त्र उम्मेदवार जनिसा भट्टराईले पाएकी हुन् । यस्तै मेयर पदमा उमेदवारी दिएका भरतबहादुर बिसुरालले पानीको बोतल पाए भने ज्ञानुमाया तामाङले केटाकेटी चिह्न पाएकी छिन् ।

यस्तै विनोद क्षत्रीले ढाकाटोपी पाए भने अमोट महर्जनले बक्सिङ ग्लोब पाए । यसै गरी नेत्रबहादुर लिम्बुले ब्याडमिन्टन कक चिह्न प्राप्त गरे भने मेयर पदकै उमेदवार पुरुषोत्तम दंगालले चेस बोर्ड चिह्न पाए ।

यसै गरी मेयर पदकै उम्मेदवार लक्ष्मीप्रसाद भण्डारीले ज्याबेल चिह्न पाएका छन् भने नवराज कार्कीले शंख पाए । अनिलमान श्रेष्ठले पंखा पाएका छन् भने राधा बेल्वासेले माछा पाल्ने भाँडो, सुशीला बेघाले मसी र कलम, चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका उमेदवार विदुरप्रसाद घिमिरेले ठेकी, राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृतका उम्मेदवार दिनेश शाहीले बिरालो पाएका छन् । यस्तै सामाजिक पर्यावरण मोर्चाका उम्मेदवार सुरेन्द्रप्रसाद ढकालले मकैको बोट, राष्ट्रिय जनमुक्ति पार्टीका डबबहादुर गर्बुजा पुनमगरले घर निर्वाचन चिह्न पाएका छन् ।

यसैगरी उपप्रमुखका उम्मेदवार साझा पार्टीकी निरूपमा यादवलाई सेलरोटीको चाङ दिइएको छ । यस्तै पुनम डंगोलले भिडियो क्यामरा पाएकी छिन् भने राधिका महर्जनले भित्ते घडी, बालकृष्ण परियारले डल्फिन, क्रान्तिकारी माओवादीकी सावित्री खरेलले गैंती, संघीय समाजवादी फोरम नेपालबाट स्वतन्त्र उम्मेदवारी दिएकी लक्ष्मी राईले नमस्ते गरेको हात चिह्न पाएकी छिन् ।

आयोगका प्रवक्ता शर्माका अनुसार पछिल्लो समय एक भएका मधेसी मोर्चा आबद्ध दलहरूलाई भने आयोगले फरक चिह्नको व्यवस्था नगरेको बताए । तर, नयाँ शक्ति र मधेसी जनअधिकार फोरमले भने नयाँ दलीय व्यवस्थाअनुसार एकै चिह्न लिन सहमत भएपछि संघीय समाजवादी फोरमकै चिह्न मसाल तय भएको उनको भनाइ छ ।

आयोगले स्वतन्त्र हैसियतमा वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनेहरूका लागि भने फरक चिह्न दिएको छ । आयोगले गत १७ पुस देखि १५ माघसम्म विभिन्न जिल्लामा रहेका दलहरूको विवरण प्राप्त भएको र त्यसका आधारमा व्यवस्थापिका संसद्मा दर्ता भएका दलहरूको विवरण हेरेर संसद्मा दर्ता भएका दललाई मात्र आधिकारिक दलको निर्वाचन चिह्न दिने निर्णय गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसद्मा रहेका दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिने उल्लेख छ । साथै उक्त दलहरूलाई मतपत्रमा समावेश गर्दासमेत समानुपातिकतर्फ प्राप्त मतका आधारमा रोलक्रम निर्धारण गर्ने व्यवस्था छ । यस्तै उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न प्रदान गर्ने उल्लेख छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments