काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सरकारद्वारा व्यवस्थापिका संसद्मा दर्ता संविधान संशोधन विधेयक असफल बनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटीको बैठकले संशोधन विधेयकको विपक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको हो । विधेयक असफल बनाउन एमालेले सबै राजनीतिक दलहरूसँग संवाद र परामर्श गर्ने जनाएको छ ।

‘व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गर्नुका साथै सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्ने निर्णय गरेको छ,’ बैठकपछि एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संशोधनमा उल्लेख भाषा, प्रदेशको अधिकार र स्थानीय तहका प्रतिनिधिको अधिकार खोस्नेलगायत विषय मुलुकको हितमा नभएको एमालेको ठहर छ । एमालेले संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरेको छ ।

एमालेले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्योल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । स्थानीय तहको निर्वाचन हुन नदिने खेल भइरहेको विश्लेषण गर्दै जसरी पनि निर्वाचन गर्नुपर्नेमा बैठकले जोड दिएको सचिव भट्टराईले जानकारी दिए ।
एमाले स्थायी कमिटीको शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै सत्तारूढ माओवादी र कांग्रेस नेताहरूसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई चरणमा चुनाव गर्न प्राविधिक समस्या देखिएको बताएको तथा कांग्रेसले संशोधनमा समर्थन गर्न आग्रह गरेको ओलीले बैठकमा जानकारी गराएका थिए ।

कसले पाउला महानगरको टिकट ?

बैठकमा स्थानीय तहका उम्मेदवार चयनका विषयमा पनि छलफल भएको थियो । एमालेले पार्टीका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको जनाएको छ । बैठकमा प्रदेश–३ की संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश–६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारको नामावली प्रस्तुत गरेका थिए ।बैठकमा चारओटै महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको विषयमा छलफल भएको थियो । बैठकमा काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारबारे छलफल सुरु भएको हो ।

चारओटै माहानगरपालिकाको मेयर र उपमेयरका लागि सम्बन्धित कमिटी, प्रदेश कमिटी हुँदै स्थायी कमिटीमा उम्मेदवारको नाम पेस भएको छ ।

एक नेताका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुषालको नाम पेस भएको छ । त्यस्तै, उपमेयरमा इन्दिरा पन्त, रत्न गुरुङ र शान्ति अधिकारीको नाम प्रदेश–३ संयोजक शाक्यले प्रस्ताव गरेकी हुन् । काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितको नाम चर्चा भए पनि उनको नाम बैठकमा पेस भएको छैन । तर, जिल्ला कमिटीले सिफारिस नगरेको केन्द्रीय सदस्य सावित्रा भुषालको नाम प्रदेश कमिटीले बैठकमा प्रस्ताव गरेको छ ।

ललितपुर महानगरपालिकाको मेयरमा भने एकजनाको मात्रै नाम सिफारिस भएको छ । मेयरका लागि ललितपुर जिल्ला कमिटीका वर्तमान अध्यक्ष हरिकृष्ण व्यञ्जनकारको नाम मात्रै बैठकमा पेस भएको हो । उपमेयरमा भने ईशा बज्राचार्य र शुकमाया तमाङको नाम बैठकमा छलफलका लागि प्रस्ताव गरिएको छ ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि देवी ज्ञवाली, विजय सुवेदी र केशवलाल श्रेष्ठको नाम स्थायी कमिटी बैठकमा पेस भएको छ । उपमेयरका लागि विद्या आचार्य र पार्वती रावलको नाममा प्रस्ताव गरिएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरको नाम स्थायी कमिटीमा प्रस्ताव गरिएको छैन । तर, प्रदेश कमिटीले मेयरका लागि कृष्ण थापा, मानबहादुर जिसी, मित्रकुमारी गुरुङ सुवेदी र उपमेयरका लागि प्रभा कोइराला, मन्जु गुरुङ र देवका पहारीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

एमालेले प्रदेश–६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रूपमा सबै उम्मेदवार तय भइसकेको जनाएको छ । एमालेले सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवाहरूको टुंगो लगाएको छ ।

प्रदेश–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । चयन भएका उम्मेदवारलाई पार्टीका तर्फबाट उम्मेदवारहरूको प्रमाणित पत्र समेत पठाइसकिएको जानकारी दिएको छ । महानगरपालिका र उपमहानगरपालिकामा पनि सर्वसम्मत रूपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको एमालेले जनाएको छ ।  एमालेले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्रसमेत तयारी गरिसकेको छ । सो घोषणा पत्र आज (आइतबार) सार्वजनिक गरिने एमालेले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments