काठमाडौं । खोजी गर्न कतै बाँकी थिएन। फागुन २० देखि देश विदेशका सञ्चार माध्यम, सामाजिक सञ्जाल, जमिन र हेलिकोप्टरबाट समेत खोजी भएको थियो। बेपत्ता भएको लामो समय भइसकेकाले परिवारलाई छोराको सास पाउने आशा झिनो थियो ।

आमा बाबुको मन मानेन। लासै भए पनि खोज्ने भन्दै अन्तिम प्रयास गर्न ताइवानबाटै एसियन ट्रेकिङ एजेन्सीलाई अनुरोध गरेका थिए उनीहरूले। परिवारको यस्तो अनुरोधपछि एजेन्सीले आफ्नो सम्पर्कमा रहेका गाइड र स्थानीयलाई प्रयोग गरी उनी हिँडेको सम्भावित स्थान धादिङ तिप्लिङ क्षेत्रमा खोजी कार्य तिव्र बनाइएको थियो।

गाइड र स्थानीयको अथक प्रयासपछि वेपत्ता २१ वर्षीय ताइवानी पर्यटक लाइङ सिंङ युनलाई बुधबार बिहान ११ बजे दुई हजार ६ सय मिटर उचाइको धादिङ टिप्लिङस्थित एक खोंचमा टोलीले फेला पारेको थियो।

खोज तथा उद्धार टोलीका सदस्य शुक्रबहादुर मगरले भन्नुभयो, ‘आगो बलेको थियो, टेण्ट टाँगेर बसेका उनी छेवैमा प्रेमीका १९ वर्षीया लिउ चेन चुनको शव थियो।’

सिम्रिक एयरबाट रेस्क्युमा खटिएका छिरिङ डेन्डुप भोटेलाई ती पर्यटक यति लामो समय के खाएर बाँचे भन्नेमा जिज्ञासा लाग्यो। ‘आफ्ना जिज्ञासा मेटाउन वरिपरी हेर्दा ४-५ प्याकेट रारा चाउचाउ, चकलेटका खोल देखियो’ भोटेले भन्नुभयो। ती पर्यटकसँग नुनको प्याकेट पनि भएकाले लामो समयसम्म पानी र नुनको भरमा उनी बाँचेको भोटेको अनुमान छ।

लियाङलाई एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक एयरको सहयोगमा उद्धार गरी काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। मृतक लिउ चेन चुनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

माया मारिएका उनलाई ५५ दिन पछि जीवित भेटिँदा परिवार मात्र होइन उद्धारमा संलग्न, उपचारमा संलग्न अस्पताल समेत खुसीले गद्गद् छन्। ग्रण्डी अन्तर्राष्ट्रिय अस्पतालको हाइ केयर युनिटमा उनलाई डाक्टर चक्रराज पाण्डे नेतृत्वको टोलीले उपचार गर्दै आएको छ। अस्पतालले इमजेन्सी रिसस्टिटेसनमा सबै जाँच गरी बुधबार नै हाइ केयर युनिटमा सारेको छ।

‘उनी खतरामुक्त छन्। स्वास्थ्यमा सुधार भएको छ’, डाक्टर पाण्डेले बताउनुभयो। २४ घण्टामै उनको न्युट्रिसनमा सुधार आएको छ भने हेमोग्लोविन अली कम भएकाले सुधार हुने क्रममा छ। होसमा आएका उनी विस्तारै अलिअलि बोल्न सक्ने भएको अस्पतालले जनाएको छ।

उनको शरीरको बाहिरी भागमा चोटपटक नभए पनि किराले टोकेका घाउ भने शरीर भर छन्। विरामीलाई उद्धृत गर्दे अस्पतालले जनाएअनुसार ५५ ती ताइवानी पर्यटको तौल ३० किलोग्राम घटेको छ।

लाङटाङ क्षेत्रको ट्रेकिङका लागि अनुमति लिएका यि जोडी बेपक्ता भएको भन्दै भारतस्थित ताइवान दुतावासले फागुन २० गते खोजी गरिदिन पर्यटक प्रहरी इकाइमा निवेदन दिएको थियो।

लाङटाङ राष्ट्रिय निकुन्जको अनुमति लिए पनि धादिङको तिप्लिङ क्षेत्रमा अन्तिम पटक परिवारसँग कुरा भएको थियो।
जन्मदिन भव्य रुपमा मनाइँदै

लाइङ सिंङ युन शुक्रबार २२ वर्षमा प्रवेश गर्दैछन्। खुसी साट्नकै लागि उनको जन्मदिन भव्य रुपमा मनाउने तयारी अस्पतालले गरेको छ। शुक्रबार अपराह्न ३ बजे अस्पतालले केक काटेर विषेश कार्यक्रमसहित जन्मदिन मनाउने तयारी गरेको ग्राण्डी अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले जानकारी दिनुभयो। ताइवनबाट उनको परिवारका सदस्य जन्म दिन मनाउन आउने भएकाले यो कार्यक्रमले थप महत्व पाउने अधिकारीको विश्वास छ।
लियाङ र लिउ ताइवानको नेशनल दङ हवा विश्वविद्यालयका विद्यार्थी हुन्। उनीहरू गत फेव्रुअरीमा भारत हँुदै नेपाल प्रवेश गरेका हुन्। गत मार्च १० मा पहिले नै तय गरिएको समयमा परिवारलाई फोन सम्पर्क नगरेपछि ती दुईका परिवारजन चिन्तित भएका थिए। वेपत्ता भएको ठानेर उनीहरूले खोजीका लागि हारगुहार गरेका थिए।

धादिङबाट घत्लाङ गाउँतर्फ चढ्दै गर्दा हिउँको चिप्लो बाटोमा ती दुई पदयात्री चिप्लिएर खसेको हुनसक्ने उद्धारकर्ताहरूका अनुमान छ। चिप्लिएर खोंचमा खसेपछि उनीहरूमाथि चढ्न नसक्दा सम्पर्क विहिन बनेका थिए।

कसरी भए वेपत्ता

पर्यटन बोर्डबाट टिम्स कार्ड लिएर व्यक्तिगत तवरमा घुम्न हिँडेका यि जोडी हिमपातले बाटो पुरिँदा अलमलमा परेका हुन्। स्थानको जानकारी नहुनु र गाइड बिना नै पदयात्रा गर्नु नै मुख्य समस्या भएको एसियन ट्रेकिङ एजेन्सीका प्रमुख आङछिरिङ शेर्पाले बताउनुभयो।

लाङटाङ राष्ट्रिय निकुन्जमा फागुन १० गते प्रवेश गर्ने अनुमति लिएका यि दुई पर्यटक बिना गाइड ट्रेकिङमा हिँडेका थिए। भारी हिमपातका कारण समथर जमिन सेताम्मे हुनाले अनुभविलाई समेत बाटो पत्ता लगाउन मुस्किल पर्ने शेर्पाको अनुभव छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments