मेलबर्न । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी नेतृत्वका लागि आकांक्षीहरुको सक्रियता बढीरहेको बेला सदस्यहरुमा भने उदासीनता देखिएको छ ।

सदस्यता वितरणको म्याद सकिनै लाग्दा एनआरएनएको सदस्यता लिनेको संख्या भने न्यून देखिएको छ । सदस्यता नवीकरण र नयाँ सदस्य लिन आवेदन बुझाउने म्याद तीन दिन मात्र बाँकी रहेको छ । अप्रिल अन्तिम सम्मको लागि तोकिएको म्याद सकिन लाग्दा हालसम्म २ हजार ६ सय ३१ जनाले मात्र सदस्यता लिएका छन् । अघिल्लो पटक सदस्य संख्या ५ हजारको हाराहारीमा रहेको थियो । अष्ट्रेलियामा नेपालीको संख्या करिब एक लाख रहेको अनुमान गरिएके छ ।

यसपटकदेखि अष्ट्रेलियामा विद्यार्थीहरुलाई समेत एशोसिएट सदस्यता दिने नीति अवलम्बन गरिए पनि खासै उत्साह देखिएको छैन ।

म्याद सकिएपछि सदस्यता लिनेहरुले जुलाई ८ तारिखका लागि तोकिएको एनआरएनए निर्वाचनमा भाग लिन पाउने छैनन् । एनआरएनको सदस्य बन्नका लागि कम्तिमा दुईवर्ष सार्क राष्ट्र बाहेकका देशमा बसोबास गरेको हुनुपर्दछ ।

एनआरएन अष्ट्रेलियाको सदस्यताको लागि प्रति सदस्य २५ डलर शुल्क तोकिएको छ । तर विद्यार्थीहरुको लागि भने १० डलरमा एशोसिएट सदस्यताको प्रावधान राखिएको छ ।

Comments

comments