काठमाडौं । व्यवस्थापिका–संसदको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदृढ स्थानीय सरकारको माध्यमबाट जनताको विकासप्रतिको आकांक्षालाई पुरा गर्ने योजनासहित चुनावी घोषणापत्र ल्याउने भएको छ ।

राप्रपाले बुधबार ललितपुरको हिमालय होटलमा विशेष कार्यक्रम गरी चुनावी घोषणापत्रलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको धरातलमा सबल र सम्मृद्ध नेपाल निर्माण गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका हुने भन्दै स्थानीय सरकार आत्मनिर्भर र स्वायत्त हुनुपर्नेमा जोड दिएको छ ।

तराईका प्रमुख शहरहरुमा चुनावी सभागरी स्थानीय तहका नेता कार्यकर्ता र मतदातासँग प्रत्यक्ष छलफल गरेका उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री तथा पार्टी अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेको राप्रपाले जनाएको छ ।

स्वायत्त शासन प्रणालीमार्फत् स्थानिय जनताका संविधान प्रदत्त अधिकारहरुलाई पूर्ण रुपमा उपभोग गर्न सक्नेगरी सक्षम बनाई प्रत्येक परिवारका आधारभूत आवश्यकता पूरा गर्नसक्ने प्रारुप घोषणापत्र मार्फत सार्वजनिक हुने पार्टी स्रोतले जनायो ।

प्राथमिक स्वास्थ्य र माध्यमिक तहसम्मको पढाइ निशुल्क गर्दै सरकारी बिद्यालयको गुणस्तरमा बृद्धिमा जोड दिँदै राप्रपाले प्रत्येक गाउँपालिका र नगरपालिकाबाट डाक्टर र इन्जिनियरलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ ।

राप्रपाले प्रत्येक घरमा खानेपानी र बिजुली, प्रत्येक वडामा मोटरबाटो पुर्याई यातायात र संचारको विकास गरी स्थानिय साना जलबिद्युतमार्फत उज्यालो गाउँ र योजनावद्ध शहरी विकासमा जोड दिएको छ ।

नेपाल बन्द जस्ता कार्यक्रम आयोजना नगर्ने प्रतिवद्धता जनाउँदै राप्रपाले स्वायत्त शासन अन्तरगत स्थानीय पुँजी परिचालन गरी रोजगारी उत्पादन गरी बढ्दो बेरोजगारी समस्या समाधान गर्ने लक्ष्य राखेको छ । स्वरोजगारलाइ प्रोत्साहन, कृषिको व्यवसायिकरण गर्दै स्थानिय उत्पादनलाई जोड दिई एक परिवार एक रोजगारीका मााध्यमबाट बेरोजगारी समस्या समाधान गर्ने राप्रपाको लक्ष्य रहेको छ ।

२५ जना भन्दा बढि व्यक्तिलाइ रोजगारी दिने उद्योग व्यवसायलाइ १० बर्षसम्म स्थानिय कर मिनाह गरी सहुलियतमा बिजुली पानी र मोटरबाटो पु¥याउने राप्रपाको संकल्प रहेको छ ।

भोजन, आवास, स्वास्थ, शिक्षा र रोजगारी जस्ता पाँच र पाँच प्राथमिकता तय गरेको राप्रपाले गरिबी निवारण संकल्प अनुसार प्रत्येक परिवारको आर्थिक सर्वेक्षण गरी सबैभन्दा कमजोर परिवारबाट आर्थिक अवस्था सुधार कार्ययोजना कार्यान्वयन गने बताएको छ ।

राप्रपाले जनयुद्ध र संक्रमणकाल, १२ बुदे सम्झौता त्यसयताको राजनीतिक मार्गचित्रप्रति असन्तुष्टि राख्दै देशभित्र बढेको अस्वभाविक बाह्य शक्तिहरुको चलखेलले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाएको निष्कर्ष निकालेको छ ।

प्रमुख राजनीतिक दलहरुमा दिशाहीनता र सैद्धान्तिक विचलन आएको निष्कर्ष निकाल्दै राप्रपाले विकल्पमा अलग पहिचान र सुस्पष्ट बिचारसहित एकिकरण भएको राप्रपा मुलुकको भरोसा योग्य पार्टी बनेको दावी गरेको छ ।

Comments

comments