झापा । सरकारले कृषिमा आत्मनिर्भर कार्यक्रम सुरु गरेयता झापामा वार्षिक ५ करोड रुपैयाँ बराबरको च्याउको कारोबार हुन थालेको छ ।

आयातमुखी कृषि अन्त्यका लागि कृषि उत्पादनमा अनुदान र बजारीकरण सहयोग कार्यक्रम सुरु गर्न थालेपछि च्याउ खेतीमा किसानको आकर्षण बढेको हो । हाल वार्षिक ५ करोड रुपैयाँको च्याउको कारोबार हुन थालेको छ ।

जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार झापामा च्याउखेती गर्ने २ सय ७० जना व्यवसायिक कृषि उद्यमीले बर्सेनि झण्डै दुई लाख रुपैयाँदेखि चार लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेका छन् ।

च्याउ खेतीका लागि गाउँघरमै बीउ पाउन थालेपछि च्याउ उद्यमीको सङ्ख्या बढ्दै गएको कृषि विकास कर्यालयले जनाएको छ । गर्मी याममा २२ दिन तथा जाडोको समयमा ३० दिन भित्रमा तयार हुने च्याउ झापाको बजारमा प्रतिकिलो १ सय ५० रुपैयाँ सम्ममा बिक्री हुन्छ ।

उपभोक्ताले डल्लो च्याउ बढी मन पराउँछन् । एक प्याकेट च्याउको बीउको मूल्य ३० रुपैयाँ पर्छ । त्यसबाट लगभग तीन किलो च्याउ उत्पादन गर्न सकिने कृषि प्राविधिकको भनाइ छ । झापामा बिर्तामोडको पाथीभरा च्याउ उद्योग र चन्द्रगढीस्थित विज्ञान च्याउ उद्योगले च्याउको बीउ उत्पादन गर्छन् । यी उद्योगले वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको बीउ बिक्री गर्ने गरेका छन् ।

च्याउको बीउ उत्पादन गर्न सरकारले ९० प्रतिशत अनुदानमा करिब ७ लाख रुपैयाँ मूल्य पर्ने दुई थान शीतभण्डारण गर्ने मेसिन उपलब्ध गराएको छ । जसका कारण झापामा व्यवसायिक च्याउ खेती गर्ने किसानलाई विदेशी बीउविजनको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

Comments

comments