देशकै प्रमुख सन्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले देशका विभिन्न भागमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिले पीडित परिवारका लागि २२ करोड रुपैयाँ सहयोग प्रदान गरेका  छन्  ।

आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत राहत तथा उद्धारका लागि २० करोड रुपैयाँ प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई उपलब्ध गराएको एनसेलले जनाएको छ । एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलरले २० करोड रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार  हस्तान्तरण गरेका हुन् |

यसैबीच प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा नेपाल टेलिकमले २ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा नेपाल टेलिकमका अध्यक्ष एवं सञ्चार सचिव सुनिलबहादुर मल्लले २ करोड रुपैयाँको चेक प्रधानमन्त्री  सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन्  । नेपाल टेलिकमका कर्मचारीहरुका तर्फबाट करिब ३५ लाख, सञ्चालक समितिका सदस्यहरुको तर्फबाट करिब २५ हजार रुपैयाँ र बाँकी टेलिकमको कोषबाट सहयोग गरिएको नेपाल टेलिकमले जनाएको छ  ।

रकम लिएपछि प्रधानमन्त्री सुशील कोइरालाले प्राकृतिक प्रकोप पीडितको उद्दार, राहत र पुनर्स्थापनामा सबै क्षेत्रबाट स्वस्फूर्त रुपमा प्राप्त आर्थिक सहयोग प्रति कृतज्ञता प्रकट गर्नुभयो । सबैको सहयोगले प्राकृतिक प्रकोप पीडितहरुलाई राहत र पुनर्स्थापना गर्ने काममा सरकारलाई सहयोग हुने प्रधानमन्त्री कोइरालाको भनाई छ ।

Comments

comments