महोत्तरी । धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास –२ का मुसहर समुदायका लागि निर्माण गरेको एकीकृत बस्ती शुक्रबार हस्तान्तरण गरेको छ । फाउन्डेशनले निर्माण गरेको ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता ‘दिनाभद्री’को मन्दिरसहितको बस्ती कलाकरद्वय मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यले हस्तान्तरण गर्नुभएको हो ।

बस्तीका हरेक घरको रङरोगनले राष्ट्रियता झल्काउँछ । नेपालको राष्ट्रिय झण्डाको रंग झल्काउने गरी छाना निलो जस्ता, पृष्ठभूमीमा गाढा रातो र चन्द्र सूर्यको भाग जस्तै रातो पृष्ठभूमीभित्र सेतो रंगले हरेक घर सिंगारिएको छ ।

बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टाबर निर्माण गरिएको छ । हरेक घर अगाडी बगैचा तयार गरिएको छ । बगैचामा अशोकका बिरुवा रोपिएका छन् ।

मुसहर बस्तीमा ५० घरपरिवारका २ सय ७२ सदस्यको बसोबास  छ । जनगणना २०६८ अनुसार नेपालमा मुसहरको जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ । तीमध्ये महोत्तरी जिल्लामा २३ हजार ३ सय ६४ छ ।

Comments

comments