मेलबर्न । नेप्लीज एशोसिएसन अफ भिक्टोरिया अष्ट्रेलियाले आगामी अप्रिल १४ देखि १६ सम्म आयोजना गर्न लागेको मल्टिकल्चरल क्रिकेटको आयोजनाको सबै तयारी पूरा भएको छ ।

नेपालीसहित अन्य विभिन्न समूदायकाबीचमा हुने क्रिकेट प्रतियोगिताको फाईनलको दिन अष्ट्रेलियन महिला क्रिकेट टोलीकी पूर्वकप्तान जोडी फिल्ड्सको समेत सहभागीता रहने आयोजकले जनाएको छ । उनको उपस्थितिले खेलाडीहरुलाई थप हौसला प्राप्त हुने अपेक्षा गरिएको छ । अष्ट्रेलियामा नेपाली संस्थाले आयोजना गरेको क्रिकेट प्रतियोगितामा पहिलोपटक उच्चस्तरीय सहभागिता हुन लागेको हो । जोडी फिल्ड्स अप्रिल १६ तारिखको फाईनल प्रतियोगिताको बेला विहान १० बजदेखि २ बजेसम्म खेल मैदानमा रहनेछिन् । क्वीन्सल्याण्डमा जन्मेकी फिल्डस अष्ट्रेलियाको राष्ट्रिय टोलीको नेतृत्व गर्ने उक्त राज्यको उनी पहिलो खेलाडि हुन् ।

प्रतियोगितामा यसपटक नेपाली टिमका साथै पाकिस्तानी टिम हक्स क्रिकेट क्लब, श्रीलंकन टिम नर्दन लायन्स, भुटानी क्रिकेट टिम, बंगलादेशी क्रिकेट टिम बंगाल टाईगर्स र भारतीय टिम शक्ति लायन्स सहभागी हुनेछन् । फाईनलका दिन नेपाली नयाँ वर्ष पर्ने भएकोले उत्सवकै रुपमा बहुसांस्कृतिक क्रिकेट प्रतियोगितामा विभिन्न रमाइला कार्यक्रमहरु समेत रहने बताइएको छ ।

बहुसांस्कृतिक क्रिकेट प्रतियोगिता अप्रिल १४ तारिख शुक्रबार विहान ९ बजेदेखि टीडब्लू ब्लेक पार्क प्रेस्टनमा हुनेछ ।

Comments