मेलबर्न । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले अब आउने एनआरएन अष्ट्रेलियाको नयाँ नेतृत्व सहमतिमै आउने सम्भावना रहेको बताउनुभएको छ ।

एनआरएन अष्ट्रेलियाको चुनावमा उम्मेदवारीको लागि धेरै जना उत्साहित देखिएतापनि नयाँ नेतृत्व सहमतिमै आउने प्रबल सम्भावना रहेको उहाँले बताउनुभएको छ । शनिबार मेलबर्न भ्रमणमा आउनुभएका पाण्डेले हिमालयन कङ्गारु प्रतिनिधिसँगको कुराकानीमा अबको एनआरएन अष्ट्रेलियाको चुनावमा सिड्नीबाट उम्मेद्वारी दिन नपाउने नियम सकारात्मक कदम भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–’यो नियमले अरु राज्यमा रहेका नेपालीहरुलाई नेतृत्व लिने अवसर प्रदान गर्दै अष्ट्रेलियामा रहेका सबै नेपालीहरुलाई एकतामा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विभिन्न राज्यमा रहेका नेपालीले नेतृत्व गर्दा एनआरएन अझ सहभागितामूलक, व्यापक र प्रभावकारी हुन्छ ।’

एनआरएन अष्ट्रेलियामा राजनीतिकरण सम्बन्धि जिज्ञासामा उहाँले एनआरएन कुनै राजनीतिक आस्था र गतिबिधि नभई स्वतन्त्र नेपालीहरुको संगठन रहेको बताउनुभयो । उहाँले अरु मानिसहरुमा जस्तै एनआरएन प्रतिनिधिहरुमा राजनीतिक आस्था हुनु स्वभाविक भएकोले त्यसलाई राजनीतिकरणको रुपमा बुझ्न नहुने विचार व्यक्त गर्नुभयो । एनआरएन चुनावमा देखिने समूहगत विभाजनलाई उहाँले उस्तै विचार भएकाहरुले बनाउने समूहको संज्ञा दिदै यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

ओएनएफले एनआरएन अष्ट्रेलियाका कार्यक्रमहरुमा पूर्ण रुपमा सहयोग गर्दै आएको र आगामी नेतृत्वलाई पनि आफूहरु सहयोग गर्न तयार रहेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँले एनआरएन, ओएनएफ लगायत विदेशमा रहेका सम्पूर्ण संघ संगठनहरु केहि कार्यक्रमहरुको आयोजनामा मात्र सीमित नभई एक आपसमा मिलेर नेपालको प्रबर्धन, विकास र सम्पूर्ण नेपालीहरुको हितको लागि बृहत रुपमा जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Please follow and like us:

Comments