तुलसीपुर । प्रधानन्यायाधीश सुशीला कार्कीले नेपालमा हरेक क्षेत्रमा गरिने राजनीतिले सीमा नाघेको बताउनुभएको छ ।

मेलमिलाप परिषद्ले शनिबार उच्च अदालत तुलसीपुरमा गरेको मेलमिलाप सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले नेपालमा कुनै पनि क्षेत्र राजनीतिकरणबाट अछुतो नरहेको बताउनुभयो । हरेक क्षेत्रमा राजनीति चाहिने भन्दा धेरै भएको दावी गर्दै उहाँले भन्नुभयो, ‘हरेक क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपले सीमा नाघेका कारण मुलुक अस्तव्यस्त भएको छ ।’

व्यक्तिमा दलीय आस्था रहनु स्वभाविक भएपनि हरेक ठाउँमा दलको कार्यकर्ताको रुपमा प्रस्तुत हुन नहुने उहाँको भनाई छ । ‘अचेल यस्तो अवस्था आइसक्यो की दालभात र नुनमा समेत राजनीति गरिन्छ, जुन देशको उन्नतीका लागि डर लाग्दो कुरा हो,’ उहाँले भन्नुभयो । उहाँले सामाजिक र न्यायीक क्षेत्रमा काम गर्नेहरुले राजनीतिको चस्मा फुकालेर इमान्दारीताका साथ काम गर्नुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले मेलमिलाप केन्द्र प्रभावकारी बन्न सके न्यायमा नागरिकको पहुँच सहज हुने बताउनुभयो । वादी/प्रतिवादीबीच छलफल गराउँदा राजनीतिक दवाब र प्रभावमा नपरी काम गर्न मेलमिलाप सहजकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईले मुलुकी ऐन पुरानो भएका कारण न्याय सम्पादनमा समस्या परेको बताउनुभयो । सातवटा संविधान बनिसके पनि जंगबहादुरकै पालाको मुलुकी ऐनका आधारमा न्याय सम्पादन गर्नुपरेको गुनासो उहाँले गर्नुभयो । मुलुकी ऐन आवश्यकता अनुसार संशोधन नभएकाले न्याय सम्पादनमा जटिलता उत्पन्न भएको उहाँको ठम्याई छ । मुलुकी ऐन अदालतको संबिधान भएकाले त्यसलाई समयानुकुल परिवर्तन गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments