मेलबर्न । एकछिनको ख्याल ठट्टाले कसैको ज्यान जान सक्छ । झट्ट सुन्दा अपत्यारिलो लाग्छ । तर यस्ता थुप्रै घट्नाहरु घटेका छन् । अझ भावनासँग जोडिएका कुराहरुमा त यस्ता ख्यालठट्टा गर्नै हुँदैन ।

यही सन्देश दिन अष्ट्रेलियाका नेपाली युवाहरुले एउटा शर्ट फिल्म बनाएका छन् । प्रोपोजल शीर्षकको यस फिल्मले केही समयको रमाइलोको लागि अरुको भावनाको पर्वाह नगरी,ख्याल ठट्टा र हाँसोमजाक गर्दा कसैको जिन्दगीमा गहिरो चोट पनि पुग्न सक्छ भन्ने सामाजिक सन्देश दिन्छ । सिड्नीमा निकै सक्रिय सुरेन्स फोटोग्राफी एन्ड टिमले तयार पारेको प्रोपोजल फिल्मको अवधि १० मिनेटको छ । ६ महिनाको अंतरालमा सात वटा नेपाली म्यूजिक भिडियो सार्वजनिक गरेका सुरेनको टिमको म्यूजिक भिडियोमा कुनै न कुनै सन्देश हुन्छन् । शर्ट फिल्ममा पनि यसले निरन्तरता पाएको छ ।

फिल्ममा शैलेश प्रधान,रुबिना श्रेष्ठ र राजिव शेरचन थकालीको मूख्य भूमिका रहेको छ भने रोशन अधिकारी, किरण र सिसम न्यौपानेको समेत अभिनय हेर्न पाइन्छ । छायांकन र सम्वाद टेक बयलकोटीको रहेको छ । कथा लेखन र निर्देशन सुरेन श्रेष्ठ आफैले गरेका छन् । मनकामना कीराना पसलले सौजन्य गरेको यस फिल्मलाई युट्युवमा निकै मन पराइएको छ । रिलिज भएको पहिलो दिनमै २५ हजार बढीले हेरेका थिए ।

आफ्नो पहिलो शर्ट फिल्मले नै दर्शकबाट पाएको मायाले थप उर्जा प्राप्त भएको निर्देशक सुरेनले हिमालयन कङ्गारुलाई बताए । ‘चाँडै फेरि यस्तै सन्देशमुलक सामाजिक फिल्महरु लिएर आउँछु,’ सुरेनले भने ।

Comments