मेलबर्न । अष्ट्रेलिया र नेपालबीच आयात निर्यातमा केही नीतिगत अप्ठ्याराहरु रहेको भन्दै त्यसलाई सहज गर्दै लैजानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपालबाट मेलबर्नमा भइरहेको अन्तर्राष्ट्रिय कफी एक्स्पोमा सहभागी हुन आएको वाणिज्य सचिव नईद्रप्रसाद उपाध्यायको नेतृत्वको टोली र मेलबर्नको नेपाली समुदायका प्रतिनिधिहरुबीच शनिवार यहाँ सम्पन्न अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नीतिगत सहजीकरणको आवश्यकता औल्याएका हुन् ।

अन्तक्र्रियामा नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभका पूर्वअध्यक्ष सुधिर शाक्यले कसरी नेपाल र अष्ट्रेलियाबीच आयात निर्यातको प्रबद्र्धन गर्ने भन्ने विषयमा तथ्यांकहरु प्रस्तुत गर्नुभयो । त्यसक्रममा उहाँले यसका लागि हाल विद्यमान नीतिगत अप्ठेराहरुलाई सहज बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल सरकार वाणिज्य मन्त्रालयका सहसचिव तोयानाथ ज्ञवालीले एक प्रस्तुति दिँदै नेपालको वर्तमान निर्यातको अवस्थाबारे जानकारी गराउनुभएको थियो । सम्भावना धेरै रहेको र आर्थिक रुपमा सम्बृद्धि हासिल गर्न विदेशमा रहेका नेपालीहरुले उल्लेख्य योगदान दिनसक्ने उहाँको धारणा थियो ।

भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालय मेलबर्नमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव टोनु घोताने, भिक्टोरिया संयोजक केशव कँडेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल, मधेशी कम्युनिटी अफ भिक्टोरियाका सचिव रञ्जन श्रीवास्तव, न्याभका पूर्वअध्यक्ष बम योञ्जनसहित व्यवसायीहरु, बुद्धिजीवीहरुले नेपालको वर्तमान आर्थिक अवस्था, निर्यातको सुधार र नयाँ सम्भावनाको विषयमा आफ्नो जिज्ञासा राख्नुभएको थियो ।

जवाफमा नेपाल सरकार वाणिज्य मन्त्रालयका सचिव उपाध्यायले नेपालले विदेशमा निर्यात गर्नका लागि केही महत्वपूर्ण वस्तुहरुलाई छनोट गरेको जानकारी दिदै यी वस्तुहरुको माग उच्च रहेको बताउनुभयो । उहाँले कतिपय सामान त माग अनुसार दिन समेत नसकिरहेको बताउनुभयो । यसका लागि नेपालमा पूर्वाधार विकास अनिवार्य बनेको उहाँको धारणा थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन दिँदै महावाणिज्यदूत चन्द्र योञ्जनले नेपालमा विकास र निर्माणका कामहरु पनि भइरहेको उल्लेख गर्दै नकरात्मक कुरा मात्र उठाउन नहुने बताउनुभयो । उहाँले नेपालमा भैरहेको विकास र निर्माणबारे डायस्पोराको समुदायसम्म जानकारी गराइदिनुभएकोमा नेपाली प्रतिनिधि मण्डललाई धन्यवाद दिनुभयो ।

प्रतिनिधि मण्डलमा वाणिज्य मन्त्रालयका सचिव, सहसचिवसहित कृषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहाल, राष्ट्रिय चिया कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, कफीको विकासको क्षेत्रमा कार्यरत विज्ञ डा. बद्रीप्रसाद बास्ताकोटी, हाईल्याण्ड कफी कम्पनीका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल अग्र्यानिक कफी उत्पादक संघका अध्यक्ष धकेश्वर घिमिरे, ललितपुर कफी कोअपरेटिम लिमिटेडका अध्यक्ष डोलराज अधिकारी, जनहित कफी कोअपरेटिमका सदस्य भुपाल पोखरेल लगायत हुनुहुन्छ ।

Comments