एजेन्सी । भनिन्छ प्राणीहरुमा सबैभन्दा संवेदनशील र चेतनशील मानिस हुन्छ । तर जनावरहरुका केही व्यवहारले यो भनाईलाई गलत सावित गर्दछन् । जर्मनीमा रहेको फ्रान्कफत चिडियाखानामा राखिएको गोरिल्लाको यस्तै व्यवहारले सबैलाई चकित बनाएको छ ।

केही दिनअघि शिरा नामको उक्त गोरिल्लाले बच्चा (छोरी) जन्माई । जन्मेको केही समयमै बच्चा मर्यो । बच्चा मरिसकेपछि शिराले गरेको व्यवहारले सबैलाई स्तब्ध बनायो ।

आफ्नी मरिसकेकी छोरीलाई शिराले काखमा बोकिराखी । हिंड्दा, खाँदा, बस्दा, कतिबेलै पनि उसले मरिसकेकी छोरीलाई भूईंमा राखिन । उसले सुम्सुम्याउँदै छोरीलाई बोकिराखी । सुत्दा पनि उसले छोरीलाई अँगालोबाट छुटाइन । प्रत्यक्ष देख्नेहरुको लागि यो दृश्य निकै कारुणिक थियो भने चिडियाखानाका व्यक्तिहरुलाई शिराको स्वास्थ्य बिग्रिने खतराले पिरोलिरहेको थियो । शिराले बच्चालाई छुन नदिएकोले उनीहरुले बच्चाको मृत्यु पछाडिको कारण खोज्न पाएका थिएनन् ।

दिन बित्दै जाँदा बिस्तारै शिराले आफूलाई सम्हालेको व्यवहार देखाउन थाली र केही दिनपछि कर्मचारीहरुलाई आफ्नी छोरी लैजाने अनुमति दिई ।

Comments

comments