मेलबर्न । पछिल्लो समय नेपाललाई लगातार तीन अन्तर्राष्ट्रिय उपाधि दिलाउन महत्वपूर्ण योगदान पुर्याएका उदीयमान नेपाली फुटबल स्टार नवयुग श्रेष्ठ अष्ट्रेलिया आउने भएका छन् ।

अप्रिल २ मा सिड्नीमा आयोजना हुने एवीके लयर्स एनआरएन अष्ट्रेलिया स्पोर्टस एवार्ड नाईटमा सहभागी हुन नवयुग अष्ट्रेलिया आउन लागेका हुन् । नवयुगसँगै राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ पनि अष्ट्रेलिया आउँदैछन् ।

एनआरएन अष्ट्रेलियाको आयोजनामा हुन लागेको अवार्ड कार्यक्रममा सहभागी हुन भलिबल खेलाडी भरत शाह पनि अष्ट्रेलिया आउने पक्का भएको आयोजकले बतायो । एनआरएन अष्ट्रेलियाले गरेको खेल प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार वितरण गर्न उक्त कार्यक्रम आयोजना गरिन लागेको हो ।

साँझ ५ः३० बजेबाट शुरु हुने अवार्ड नाईटमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति समेत रहने बताइएको छ ।

अन्तर्राट्रिय खेलाडीमा ह्याट्रिक गर्ने नवयुग यतिबेला त्रिभुवन आर्मी क्लबसँग सम्बन्धित छन् उनले गत वर्षको राष्ट्रिय लिगमा सर्वाधिक १४ गोल गरेका थिए । कप्तान अनिल गुरुङ भने यतिबेला मनाङ मस्र्याड्दीका खेलाडी हुन् ।

Comments