दीपेन्द्र दोङ तामाङ /मेलबर्न

अष्ट्रेलियाको क्वीन्सल्याण्डमा मंगलवार आएको शताब्दीकै शक्तिशाली आँधीले तेस्रो विश्वयुद्धको झल्को दिएको छ । डेब्रिज नामक आँधीले भौतिक संरचनाहरुमा निकै क्षति पुर्याउनुको साथै जनजीवन नराम्ररी प्रभावित भएको छ ।

अहिले त्यहाँको अवस्था लामो समयदेखिको युद्ध सकिएपछिको जस्तै देखिन्छ । जताततै खण्डहर मात्र भेटिन्छन् । आँधीका कारण क्वीन्सल्याण्डका पावर सप्लाइ बन्द भएको छ । यसबाट करिब ६३ हजार घरको विजुली र ग्याँस लाइन बन्द छ । जताततै रुखहरु ढलेर सडक र राजमार्ग अवरुद्ध छन् भने ठाउँठाउँमा पहिरो खसेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आधीका कारण ठूलो आर्थिक क्षति पुगेको स्थानीय सरकारले जनाएको छ । यस्तो विध्वांशकारी आँधी आएपनि अहिलेसम्म कुनै हताहतीको खबर भने नआएको जनाइएको छ । तर केही घाइते भएका छन् । अधिकारीहरुका अनुसार करिब ६०० कल आपतकालीन उद्दार र सहयोगको अपिल गर्दै आएका छन् । यस्तो कलको संख्या बढेर करिब एक हजारसम्म पुग्न सक्ने अनुमान गरिएको ती अधिकारीले बताए । संघीय सरकारले आपतकालीन उद्दार कार्यलाई तीव्रता दिइरहेको प्रष्ट पारेको छ । डे ड्रिम आइल्याण्डमा फसेका करिब २ सयजना पर्यटकहरुलाई सुरक्षित गन्तव्यतर्फ पठाइदैछ ।

आँधीका कारण यहाँका सीमान्तिकृत केही समुदाय भने अझै सम्पर्कबाहिर रहेकोप्रति सरकारले चासो र चिन्ता व्यक्त गरेको छ । डुङ्गा सहित फसेका दुई माझीहरुलाई भने उद्दार टोलीले उद्दार गरेका छन् । सरकारले प्रभावित क्षेत्रमा उद्दारका लागि एक हजार जनाको आपतकालीन उद्दार टोलि परिचालन गरेको छ ।

बुधवारदेखि आँधीमा सुधार आए पनि अझै भारी वर्षासहित तीव्र गतिको हावा चलिरहेको मौसमविदहरुले जनाए । यसबाट त्यहाँको तापक्रम न्यून हुँदै गएको र चिसोको कारण जनजीवन केही दिन प्रभावित हुने अनुमान गरिएको छ ।

डेब्रिज आँधीको दौरान विशाल युद्दको झल्को दिएको स्थानीयहरुले बताए । एर्लीबीचका एकजना स्थानीय ट्रोय वील्लर भन्छन्–’आँधीको समय निकै भयावाह थियो । आँधीको आवाज कुनै फाइटर जेटको जस्तो लाग्थ्यो । हामी घरको भुइतल्लामा बंकरभित्र बसेजस्तै गरेर डराएर बस्यौं । म र मेरी श्रीमतीले सहास गरेर घरको झ्यालबाट वरपरको दृश्य हेर्यौं । सबतिर तहसनहस देखिन्थ्यो ।’

‘यो तेस्रो विश्वयुद्धको झल्को दिन पर्याप्त थियो,’ उनले थपे ।

यसैबीच प्रधानमन्त्री मलकम टर्नबुल्ले मंगलवार गएको आँधीले पुर्याएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

टेलिभिजन सम्बोधन मार्फत उनले प्रभावित क्षेत्रको जनजीवनलाई सहजीकरण गर्न क्वीन्सल्याण्ड राज्य सरकारसँग नजिकको सहकार्य गरेर आफ्नो सरकार लागिपरेको बताए । उनले सरकारका वित्तिय मन्त्रीले बैंकिङ र विमा क्षेत्रसँग परामर्श गर्न थालिसकेको उल्लेख गरे । यस्तो विषम अवस्थामा बैकिङ र विमा क्षेत्रले सरकारलाई निकै सहयोग गरिरहेको भन्दै प्रधानमन्त्री टर्नबुलले प्रशंसा समेत गरे । सम्बोधनमा उनले क्वीन्सल्याण्डको मौसम अझै खराब रहेकोले सुरक्षित रहन र यसका लागि सरकारले दिएका निर्देशनहरु पूर्ण पालना गर्न प्रभावित क्षेत्रका जनताहरुमा अपिल गरेका छन् ।

Comments

comments