काठमाडौं । पृथ्वीजयन्तीको दिन पुष २७ मा सार्वजनिक विदा नहुने भएको छ ।

लामो वहसपछि सरकारले पारित गरेको २०७४ सालभरिको सार्वजनिक विदाको सूचीबाट पृथ्वीजयन्तीलाई हटाइएको हो । यसअघि क्याबिनेट वैठकको निर्णयबाटै पुष २७ मा बिदा दिने भनिएपनि त्यस्तो कुनै निर्णय नै नभएको खुलासा भएको छ ।

क्याबिनेटबाट कुनै निर्णय भएको छैन । राजनीतिक सहमतिको आधारमा आवश्यक परे पछि बिदा दिइने समझदारी मात्रै भएको हो । सरकारका एक मन्त्रीले भने । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पृथ्वीजयन्तीको दिन बिदा दिने विपक्षमा हुनुहुन्छ । प्रधानमन्त्रीको चाहना नरहेकै कारण सो निर्णय नभएको उनले प्रष्ट पारे । त्यसैले गृहमन्त्रालयले पुष २७ को बिदा कटौती गरेर सार्वजनिक बिदाको सूचि पेश गरेको हो ।

मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको बैठकमा गृहसचिवले पेश गरेको बिदाको सूचिमा क्रिशमसको दिन भने बिदा दिने उल्लेख छ ।

यसैबीच वैठकमा पुष २७ मा सार्वजनिक विदा दिने विषयमा सरकारका दुई मन्त्रीबीच चर्को विवाद भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरीबीच विवाद भएको हो ।

पृथ्वीजयन्तीको (पुस २७ गते ) दिन दिइने भनिएको सार्वजनिक बिदा हटाइएको पाइएपछि मन्त्री गिरीले पृथ्वीजयन्तीको दिन बिदा नदिइए बिदाको सूचि पारित गराउन आफ्नो समर्थन हुन नसक्ने बैठकमा बताएपछि दुई मन्त्रीबीच विवाद सुरु भएको थियो ।

Please follow and like us:

Comments