मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भव्यताका साथ “एम फेस्टिभल“ सम्पन्न भएको छ । सोलाङचरले आयोजना गरेको कार्यक्रममा विदेशी सहित हजारौं जनाको सहभागिता रहेको थियो ।

करिब ६ हजार जनाले आफ्नो नाम दर्ता गराए पनि कार्यक्रममा अझ बढी दर्शक सहभागी भएका थिए । यस फेस्टिभलले नेपाल फेस्टिभलको झझल्को दिएको थियो ।

मःम र संगीतको यस पर्वमा रहेका मःमका विभिन्न स्टलहरुले मःम पारखीहरुलाई तानिरहेको देखिन्थ्यो । कार्यक्रममा भाषणको पाटो नहुनु र संगीतको मज्जामा झुम्न पाइनुले सहभागीहरु बेलुकासम्म नै रमाईरहे ।

अझ त्यसमाथि अष्ट्रेलिया टुरमा रहेको “कुटुम्ब“ ब्यान्डको संगीतले सबैलाई नचायो । कोबर्ग भेलोड्रोममा भएको कार्यक्रममा सहभागी एक विदेशी नागरिक एडमले आफूलाई मःम एकदमै मन परेको र त्योभन्दा बढी नेपाली संगीत मन परेको बताए । उनले भने, “ यो कार्यक्रमले मलाई नेपालप्रति आकर्षित गरायो । यो कार्यक्रममा म एकदमै रमाईरहेको छु । एकपटक म अवश्य नेपाल पुग्नेछु“ । त्यस्तै फ्राई मःमको स्वाद लिंदै गरेकी न्युजिल्याण्डकी स्यालीले नेपाली मानिसहरु आफूलाई एकदमै मन परेको बताइन् ।

ग्रेस इन्टर्नेशनलका दिपक आचार्यले “एम फेस्टिभल“ ले व्यवसाय प्रबर्धनमा सहयोग पुगेको बताउनुभयो । उहाँले यो अवसर प्रदान गरेकोमा आयोजक तथा व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेले कार्यक्रमले नेपालको राम्रो प्रबर्धन भएको भन्दै आयोजक र सहभागीहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

Comments

comments