मेलबर्न । अष्ट्रेलियामा प्रत्येक व्यक्तिलाई समानताको अधिकार छ । त्यसैले अष्ट्रेलियाको प्रत्येक कलेज तथा युनिभर्सिटीले सबै विद्यार्थीहरुलाई समान विद्यार्थी हक प्रदान गरेको हुन्छ ।

अष्ट्रेलियाको स्कुल तथा कलेजमा यदि असमान व्यवहार पाउनुहुन्छ, तपाईंमाथि यौनजन्य हिंसा हुन्छ वा कसैको अभद्र व्यवहारले पीडित बन्नुहुन्छ भने आफूले पढ्ने संस्थामा उजुरी गर्न सक्नुहुन्छ । शैक्षिक संस्थाहरुमा विद्यार्थी सल्लाहकार वा परामर्शदाता हुन्छन् । उनीहरुले तपाईंलाई सहयोग गर्छन् ।

यदि तपाईंले शैक्षिक संस्थाबाट न्याय पाएको अनुभव गर्न सक्नुहुन्न र तपाई भिक्टोरिया राज्यमा बस्नुहुन्छ भने “भिक्टोरियन इक्वेल अपर्च्युनिटि एण्ड हुमन राइट कमिसनमा“ उजुरी गर्न सक्नुहुन्छ । यसमा “फ्री इन्क्वाएरी“ सेवा हुन्छ । यहाँ तपाईंले जुनसुकै भाषामा पनि उजुरी दिन सक्नुहुन्छ । यस्तो कमिसनहरु हरेक राज्यमा उपलब्ध छन् ।

समान अवसरको हक २०१० अन्तर्गत निम्न आधारमा भेदभाव गर्नु अष्ट्रेलियाको कानून विरुद्ध हुन्छ :

–रोजगारी कार्य

-परिवार वा करियर

-लिङ्ग

-शारीरिक अपांगता

-वैवाहिक स्थिति

-छालाको रंग, देश वा जाति

-शारीरिक संरचना

-राजनीतिक आस्था वा कार्य

-गर्भावस्था

-धार्मिक आस्था

-उमेर आदि ।

Comments

comments