काठमाडौं । नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो गिरोहका आठजना पक्राउ परेका छन् ।

दुई वर्षदेखि नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएको गिरोहका नाइके सुरेश केसीसहितका आठजनालाई महानगरीय अपराध महाशाखाले तीन दिनको अनुसन्धानपछि पक्राउ गरेको हो । उनीहरूले हालसम्म काठमाडौं तथा पोखराका होटेल तथा पसलमा रहेका प्वाइन्ट अफ सेल (पिओएस) मेसिनहरूबाट तीन करोड ३१ लाख रुपैयाँ ठगी गरिसकेका छन् । गिरोहमा आबद्ध भारतीय नागरिक अभिषेक पाण्डेलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

पक्राउ पर्ने अन्यमा केवलशमशेर जबरा, अभिषेक नकर्मी, अनुज नकर्मी, विजय लामा र नदिम खान छन् । केवलशमशेर दुई वर्षअघि पनि एटिएम ठगी अपराधमा जेल परेर छुटेका हुन् । अभिषेक र अनुजले गिरोहका लागि सहयोगीका रूपमा काम गरेका थिए । त्यस्तै, लामा र खान प्वाइन्ट अफ सेल (पिओएस) मेसिन दुरुपयोग गरी ठगीमा सघाउने व्यवसायी हुन् । खानको क्षेत्रपाटीमा डी सोभिनियर नामको पसल छ भने लामाको भक्तपुरमा पौराणिक थान्का पसल छ । आफ्नो पसलमा रहेको पिओएस मेसिन दुरुपयोग गरेर उनीहरूले लाभ लिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए ।

बिटक्वाइन कारोबारी र आइसिक्वु नामक एप्समार्फत सो गिरोहले विदेशी नागरिकको डेबिट तथा क्रेडिट कार्डहरूको डाटा चोरी गरेको अनुसन्धान अधिकृत रहेका महाशाखाका डिएसपी अजय केसीले बताए । आइसिक्वु एप्समा रहने ब्रोकरहरूमार्फत उनीहरूले एटिएमको डाटा बेच्ने गर्दथे । ५० देखि ५ सय अमेरिकन डलरसम्म तिरेर उनीहरूले त्यस्ता एटिएम पिन नम्बरसहितको डाटा किन्ने र सोही डाटाबाट नक्कली एटिएम कार्ड बनाउँदै आएका थिए ।

‘सुरेश केसीले नै दिल्लीबाट मेग्नेटिप स्ट्रिप रिडर र राइटर मेसिन खरिद गरेको थियो,’ डिएसपी केसीले भने, ‘ल्यापटपमा सोही मेसिन जडान गरी खाली कार्डमा चोरीका डाटा भरेर नक्कली एटिएम कार्ड बनाउँदै आएको अनुसन्धानमा देखिन्छ ।’

कार्ड स्वाइप गरेर सपिङ गर्न पिनकोड नचाहिने भएकाले उनीहरूले त्यसरी बनाइएका नक्कली कार्डमार्फत सपिङ गर्दै आएका थिए । तर, सपिङ गर्दा थोरै मात्र पैसा चोर्न सकिने भएकाले पिओएस मेसिन चलाउने पसल सञ्चालकहरूसँगै मिलेर चोरी धन्दा चलाउँदै आएका थिए । पिओएस मेसिन चलाउने पसलेलाई ६० प्रतिशत तथा आफूहरूले ४० प्रतिशत लिने सर्तमा उनीहरूले स्वाइप मेसिन घरमै राखेर चोरी गरेको प्रहरीले जनाएको छ । त्यसरी स्वाइप गरेको पैसा पसल सञ्चालकहरूको खातामा जम्मा हुन्थ्यो । त्यही पैसा उनीहरूले बाँड्ने गरेका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments