एजेन्सी । स्पेनिस ला लिग अन्तर्गत आइतवार राति भएको खेलमा एथ्लेटिको मड्रिडसँग सेभिल्ला पराजित भएको छ ।

यो पराजयपछि उपाधि होडमा रियल मड्रिड र बार्सिलोनालाई दबाब दिँदै आएको सेभिल्लालाई धक्का लागेको छ । एथ्लेटिको मड्रिडले सेभिल्लालाई ३–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडललाई जिताउन डिएगो गोडिन, एन्टोनी ग्रिजम्यान र कोकेले एक एक गोल गरे । सेभिल्लाका लागि योआकिन कोरेआले एक गोल फर्काए । ३७ औं मिनेटमा गोडिनले गोल गरेपछि पहिलो हाफमा एथ्लेटिको मड्रिडले १–० को अग्रता लियो । ६१ औं मिनेटमा ग्रिजम्यान र ७७ औं मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिको मड्रिडले ३–० को अग्रता लियो । ग्रिजम्यानले २५ यार्ड परबाट बायाँ खुट्टाले सुन्दर फ्रिकिक मार्फत गोल गरेका हुन् । ८५ औं मिनेटमा कोरेआले सेभिल्लाका लागि एक गोल फर्काएपछि एथ्लेटिको ३–१ ले विजयी भयो ।

हारपछि तेस्रो स्थानको सेभिल्लाको २८ खेलबाट ५७ अंक भएको छ । सेभिल्ला दोस्रो स्थानको बार्सिलोना भन्दा ६ तथा शीर्ष स्थानको रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ ।

चौथो स्थानको एथ्लेटिको मड्रिडको ५५ अंक भएको छ । राति भएका अरु खेलमा सेल्टा डि भिगोले डिप्रोटिभो डि लाकोरुनालाई १–० तथा स्पोर्टिङ गिजोनले ग्रनाडालाई ३–१ ले हरायो । लेगानेस र मालागाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Comments

comments