मेलबर्न । युवा लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ’समर लभ’माथि फिल्म बन्ने पक्का भएको छ ।

कलाकारको अन्तिम टुङ्गो लागेपछि ’नाई नभन्नु ल ३’ निर्देशक मुस्कान ढकालको निर्देशन रहनेगरी आईतबार फिल्म घोषणा गरियो । फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

दुई बर्ष पहिलेदेखि निर्माणको चर्चा रहेको फिल्म आईतबार मात्र घोषणा भएको हो । छिट्टै नै फ्लोरमा जाने भनिएको फिल्ममा उपन्यास ’समर लभ’बाट दुई नयाँ अनुहार भित्रिने भएका छन् ।

फिल्ममा अतितको भूमिकामा आशिष पिया देखिँदैछन् । केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिषको यो पहिलो फिल्म हो । यस्तै निकै लामो समयसम्मको खोजीपछि ’साया’को भूमिकामा रेवती क्षेत्री देखिने भएकी छिन् ।

उनी नेपाली मुलका भारतीय नागरिक हुन् । २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवतीले यसअघि नै ’ग्याङ्ग अफ नर्थवेस्ट’ नामको भारतिय फिल्म गरिसकेकी छिन् भने ’खातुन’ नामको फिल्म समेत गर्दैछिन् ।

यसअघि सायाको भूमिकामा अभिनय गर्ने अभिनेत्री चयनका लागि अष्ट्रेलियामा समेत अडिसन लिइएको थियो ।

फिल्मको संवाद लेखनमा सुविन र सामिप्यराज तिमिल्सेनाले सहकार्य गरेका छन् भने संगीत पुष्पन प्रधानको रहनेछ । नाइटिंगेल ईन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी छन् भने लगानीमा भरत शर्मा, सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले साझेदारी गरेका छन् ।

काठमाडौं, पोखरा, धनगढीमा छायाँकन हुने भनिएको फिल्मका केहि दृश्य विदेशमा पनि खिचिने बताईएको छ । बैशाखको दोश्रो हप्ताबाट फिल्म फ्लोरमा जानेछ ।

Comments

comments