मोरङ । मोरङको मझारे ९ तारेगामास्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ ।

नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ । ट्र्याक खोल्ने काम सकेर डेढ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । सडक कालोपत्रेमा दर्जनौं भारतीय मजदुर परिचालित छन् । सडकको उचाइका कारण बर्खाको समयमा नेपाली भूभाग डुबानमा पर्ने खतरा पनि बढेको छ ।

सडक निर्माणका नाममा दसगजासँगै केही नेपाली भूमिसमेत अतिक्रमण गरिएको गुनासो स्थानीयको छ । दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न र बस्ती बसाउन नपाइने नियम उल्लंघन गर्दै भारतीय पक्षले एकलौटी रूपमा पक्की सडक निर्माण गरे पनि नेपालस्थित प्रशासनिक निकायले त्यसलाई रोक्न प्रभावकारी कदम चाल्न नसकेको गुनासो स्थानीय बासिन्दाको छ ।

Comments

comments