काठमाडौं । विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान भएका छन् । विमानस्थल सुरक्षामा खटिएका एसएसपीसहित चारजना सुनपसले भने धरौटीमा छुटेका छन् ।

भन्सार चोरीपैठारी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालतल काठमाडौंले एसएसपी श्याम खत्री तथा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको हो । विमानस्थलका तत्कालीन एसएसपी खत्री दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् भने अदालतले अन्यलाई एक–एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले विमानस्थल भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव तथा एक्सरे टेक्निसियनहरू राजकुमार ढकाल र श्याम श्रेष्ठलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । तस्करीमा संलग्न रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल शाहीलाई समेत अदालतले जेल चलानको आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत २१ पुसमा विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७.४० ग्राम सुन तिलगंगाबाट बरामद गरेको थियो । दुई महिना लगाएर अनुसन्धान गरी १२ जनालाई पक्राउ गरी सिआइबीले गत २२ फागुनमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । करिब दुई हप्ता लामो थुनछेक बहसपछि जिल्ला अदालतले शुक्रबार त्यसमा आदेश दिएको हो । सिआइबीले मुख्य तस्करसहित २१ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

मुख्य तस्करहरू विदेशमा रहेकाले इन्टरपोलको सहयोगमा उनीहरूलाई पक्राउ गरेर नेपाल ल्याउने प्रयास भइरहेको सिआइबीका डिआइजी नवराज सिवलालले बताए । अदालतले उनीहरूको नाममा वारेन्ट जारी गरेकाले अब रेडकर्नर नोटिसमा राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

तस्करीका मुख्य नाइके हरिशरण खड्का, रोशन (गुप्तलाल) भुसाल, राजन पन्थ, अर्जुन खरेल, किसनगोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं, गोपी भुसाल र प्रमोद श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उनीहरूमध्ये अधिकांश दुबईमा छन् । उनीहरूको सम्पत्तिको समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै, तस्करीमा सहयोगीको भूमिकामा उत्तरढोकास्थित दरबार दोहोरी क्लबका सञ्चालकद्वय रामप्रसाद खड्का र प्रकाश खरेल, सुन ओसारपसारमा संलग्न भोला मगर, संकेत खतिवडा, विष्णु सुवेदी, माधव सुवेदी तथा एयरपोर्ट भन्सारका कर्मचारीहरू गंगा भुसाल, तेजबहादुर श्रेष्ठ र प्रद्युम्नहरि श्रेष्ठविरुद्ध समेत मुद्दा दायर भएको छ । विशालबजारस्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, सालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल तथा बटुस्थित साइराम ज्वेलर्सका सञ्चालक अनमोल विभुते भाइचन्द्र पनि उक्त मुद्दाका फरार प्रतिवादी हुन् ।

पक्राउ परेका एयरपोर्ट भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवले सुन तस्करीमा एयरपोर्टका तत्कालीन डिआइजी र भन्सारका हाकिमहरूको समेत संलग्नता रहेको बताएका हुन् ।

पक्राउ परेका तस्करहरूले पनि एक किलो सुन एयरपोर्टबाट पास हुँदा ५० देखि ८० हजार रुपैयाँसम्म सेटिङमा खर्च हुने गरेको बताएका छन् । तर, पक्राउ परेका भन्सारका कर्मचारी तथा एसएसपीले एकपटकको करिब ३ लाख रुपैयाँ लिने गरेको अनुसन्धानमा देखिन्छ । एकपटकमा उनीहरूले २० केजीसम्म सुन ल्याउने गर्दथे । सिआइबीको अनुसन्धानमा सो समूहले कम्तीमा एक सय ३८ पटक सुन विमानस्थलबाट भित्राएको खुलेको छ । जसअनुसार उनीहरूले दुबईबाट करिब दुई हजार केजी सुन नेपालमा तस्करी गरेको प्रहरी अनुमान छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments