काठमाडौं । अधिकांश समय खोलाको बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने सप्तरीका मुसहर समुदायका बालबालिका अहिले विद्यालय जान थालेका छन् ।

हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले एकीकृत बस्ती निर्माण गर्न सुरु गरेसँगै मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन सुरु गरेका हुन् ।

६० घरपरिवारका ३ सय ७५ जना बसोबास रहेको बस्तीका ६४ जना बालबालिका जनता उच्च माध्यमिक विधालय बर्दिवासमा पढ्न जान थालेका छन् । धुर्मुस सुन्तलीले  बालबालिकाको भविष्य उज्ज्वल बनाउन शिक्षाको आवश्यकता रहेको भन्दै मुसहर बस्तीका अभिभावकलाई शिक्षाको महत्वबारे बुझाएपछि उनीहरुले आ–आफ्ना बालबालिकालाइ बिद्यालय पठाउन थालेका हुन् ।

विद्यालयको तथ्याङ्कअनुसार, शिशु कक्षामा २४ जना, कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा छ जना गरी जम्मा ६४ जना बालबलिका मुसहर समुदायका रहेका छन् ।

कालाकारद्वय धुर्मुस र सुन्तलीको जोडीले मुसहरबस्तीका दयनीय अवस्था हेरेपछि उत्थानका लागि जनचेतना जगाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । बर्दिवास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिवास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहरबस्तीको विकासका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा सहयोग गरिरहेका छन् ।

बर्दिवास नगरपालिकाले मुसहरबस्तीका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि भन्दै सात लाख रुपैंयामा सामुदायिक भवनसमेत निर्माण गरिदिएको छ ।  दुई लाख ३४ हजार ४९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत मात्र साक्षर रहेको छ भने शिक्षाको हिसाबले महिलाको अवस्था निकै दयनीय रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments