काठमाडौ । नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ ।

विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

‘हामीले ऋण चुक्ता गरिसकेका छौं । अझै पनि कानुनले थप रकम तिर्नुपर्ने देखाएमा दाखिला गर्छौं’, राईदम्पतीले भने । यति भन्दाभन्दै पनि ललितपुर नखिपोट कान्तिपुर कोलोनीनजिकको ३ रोपनी ५ आना जग्गा सहकारीले जफत गरेको छ । उक्त सहकारीबाट शोभा राईका नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं ५ को २१, २२ र १००९ कित्ता नम्बरको जग्गाबाट २९ लाख २५ हजार ऋण लिएकी थिइन् भने नारायण राईले १००७, १३०९, १३१०, १३१३ नम्बरको कित्ताबाट १७ लाख ऋण लिएका थिए ।

उनीहरूले क्रमशः २०६७ कात्तिक ११ गते र २०६८ चैत १२ गते ललितपुर मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक र सहकारीको रोक्का गराएर उक्त सहकारीबाट ऋण लिएका हुन् । राईदम्पतीले लिएको जम्मा ऋण ४६ लाख २५ हजारमा पटकपटक गरी ४८ लाख ३६ हजार ५ सय ६१ रुपैयाँ सहकारीलाई बुझाइसकेका छन् । ऋण तिरेको भौचर राईदम्पतीसँग छ । तर लिएको ऋण तिरेर अन्य हिसाब बाँकी भएमा तिर्छु भन्दाभन्दै सहकारीले करिब ६ करोड रुपैयाँको जग्गा जफत गरेको छ ।

गोरखा सहकारीले मालपोत कार्यालयमा दृष्टिबन्धक राखिएको शोभा राईका नाममा रहेको उक्त कित्ता नम्बरको सोही जग्गामा २०६८ चैत १२ गते ५७ लाख ४६ हजार रुपैयाँको कागज तयार पारेको छ । नारायण राईका नाममा रहेको सहकारीले रोक्का गरेको जग्गामा पनि १७ लाखको सट्टा ४१ लाख ५० हजार रुपैयाँको तमसुक बनाएको छ । राईदम्पतीले तिरेको ऋणको कुनै हिसाब छैन । सहकारीले यी दुवै ऋण अनि यसको ब्याज, अदालतमा लागेको खर्च, हर्जनासमेत गरी राईदम्पतीको ३ रोपनी ५ आना जग्गा एक करोड २४ लाख रुपैयाँमा सकारेको छ जब कि सहकारीले नै बनाएको तमसुक र कागजको रकम जोड्दा पनि ९८ लाख ९६ हजार रुपैयाँ मात्र तिर्नुपर्ने देखिन्छ ।

राईदम्पतीले सहकारीबाट लिएभन्दा बढीको किर्ते कागज तयार पारेको र उनीहरूले विभिन्न समयमा बुझाएको दुरुस्त हिसाब नदेखाएको आरोप लगाएका छन् । खाली कागजमा सही गराएर सहकारीले ऋण बढाएको राईदम्पतीले बताए । सहकारीले भनेकै जति रकमको सावाँब्याजसमेत गरी ८९ लाख ३१ हजार रुपैयाँ पनि आफू तिर्न तयार भएको शोभा बताउँछिन् ।

सहकारीले राई पत्नीलाई खाली कागजमा सहीछाप गराएर थप ५७ लाख ४६ हजार रुपैयाँको भार बोकाएका छन् । बज्र इन्जिनियरिङ कन्सल्टेन्सीले २०७१ मा गरेको मूल्यांकनअनुसार उक्त जग्गाको मूल्य एक करोड २४ लाख ७७ हजार रुपैयाँ छ जब कि २०६७ सालमै उक्त जग्गाको मूल्य आनाकै ७ लाख रुपैयाँ थियो ।

राईदम्पतीले ऋण तिरेको प्रमाणित रसिदसहित सहकारीले ठगी गरेको पर्याप्त प्रमाण लिएर ललितपुर जिल्ला अदालत पुगे पनि न्याय पाउन सकेनन् । अहिले उनीहरूको मुद्दा पुनरावेदन अदालतमा छ, जग्गा भने सहकारीसँग ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments