लिखित तथा ट्रायलमा फेल हुनेलाई सवारी चालक अनुमति पत्र दिएर भ्रष्टाचार गरेको अभियोगमा  यातायात व्यवस्था कार्यालय वागमतीका प्रमुख सहित १६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रस्टाचारको मुद्दामा यातायात कार्यालयका नौ जना र सात जना बिचौलिया परेका छन् ।

अनियमित तरिकाले लाईसेन्स वितरण गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर गर्दै यातायात व्यवस्था विभाग, सवारी चालक अनुमति पत्र कार्यालय बागमतीका  तत्कालीन निमित्त कार्यालय प्रमुख रामदत्त भट्ट, कम्प्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडविरुद्ध मुद्दा दायर भएको हो । यस्तै कम्प्युटर अधिकृत राजेश पाछै महर्जन, कम्प्युटर अपरेटरहरु संजीव न्यौपाने, दिलीप सिंह धामी, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमाललाई अनियमित तरिकाले अभिलेख सच्याएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरुले भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले सोही दफा बमोजिम हदैसम्मको सजाय हुने अख्तियारको भनाई छ ।

राजधानीका बिभिन्न ठाउँमा  ड्राइभिङ स्कुल संचालन गर्दै  बिचौलियामा काम गर्ने रमेश तामाङ, शम्शेरबहादुर थिङ, वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पा समेत ७ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरुले भ्रष्टाचार निवारण ऐनकद्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा ३९१० र ३९२० बमोजिम हदैसम्मको कारवाही गर्न १६ जना उपर कुल बिगो जम्मा ५३ लाख ७८ हजार रुपैयाँ कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

अनियमितता पुर्वक बनेका सबै लाइसेन्स रद्द हुने 

विभिन्न मितिको प्रयोगात्मक परिक्षामा फेल भई अनियमित तरिकाबाट जारी भएका १ सय ९७ जनाको सवारी चालक अनुमति पत्र रद्द गर्नका लागि यातायात व्यवस्था विभागमा लेखी पठाईएको र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट संकलन भएका ३ सय ६ वटा नक्कली सवारी चालक अनुमति पत्र आवश्यक थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो पठाईएको पनि अख्तियारले जनाएको छ । ( तस्विर : नागरिक )

Comments