काठमाडौं । बाग्मती सफाइ महाअभियान अन्तर्गत शनिबार विशेष कार्यक्रमको आयोजना गरिएको छ । बाग्मती सभ्यताको पुनर्जागरणका लागि भन्दै सञ्चालित महाअभियानको २००औँ सप्ताह पुरा भएको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

तीन वर्षअघि ढल र फोहोरले छोपिएको बाग्मती सफा गर्ने क्रममा शनिबार दुई सय साता पूरा भएको छ । सफाइ महाअभियानमा सहभागी हुन सम्पूर्ण नागरिकलाई आह्वान गरिएकाले यो हप्ता बाग्मती सफाइ अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान रहेको अधिकार सम्पन्न बाग्मती सभ्याता एकिकृत विकास समितिले जनाएको छ ।

समितिका अनुसार बाग्मती सफाइ महाअभियानको २००औँ सप्ताह संस्करणमा सुन्दरीजलदेखि सुन्दरीघाट (चोभार)सम्म (२७ किलोमिटर) विभिन्न १८ वटा ठाउँमा बाग्मती सफाइ तथा पदयात्रा आयोजना भएको छ । त्यसैगरि राजधानीको सुन्दरीजल, भद्रबास, गोकर्ण, जोरपाटी नारायणटार पुल, गोठाटार पहेँलो पुल, गुह्यश्वरी, पशुपति राममन्दिर, तिलगङ्गा आँखा अस्पताल, सिनामङ्गल नयाँ पुलमा बाग्मती सफाइ र पदयात्रा गरिएको छ ।

त्यसैगरी मीनभवन पुल, महादेवस्थान पुल, शङ्खमूल मनोहरा दोभान, धोबीखोला दोभान, थापाथली पुल, टेकू दोभान, बल्खु पुल, सुन्दरीघाट र चोभार जलविनायकबाट सफाइ तथा पदयात्रा गरिएको छ । तीन वर्षअघि २०७० जेठ ५ गतेदखि साप्ताहिक रूपमा बाग्मतीको सफाइ सुरु भएको थियो । फाइल तस्बिर । 

Comments