काठमाडौं । समकालीन राजनीतिमा समेत चर्चा भइरहने पात्र हुन् तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर ।

उनको स्वभाव र शासनशैलीका कारण उनको चर्चा भइरहने गरेको छ । विभिन्न हत्याकाण्ड र पर्व रचेर शासन सम्हाल्न पुगेका जंगबहादुर अत्यन्त शाक्तिशाली र चतुर शासकका रुपमा चिनिँदै आएका छन् । कोतपर्व र भण्डारखाल पर्वजस्ता नरसंहारकारी काण्डका कारण शक्तिशाली भएका जंगबहादुर एक सय चार वर्षसम्म चलेको निरंकुश शासन व्यवस्थाका संस्थापकसमेत हुन् ।

प्रधानमन्त्री हुँदै श्री ३ पदवीसमेत लिएर आफ्ना सन्तान दरसन्तानलाई समेत शासन सत्तामा उक्लिने बाटो बनाएका उनी नेपालको राजनीतिक इतिहासका एक मिथक बन्न सफल राजनीतिक व्यक्तित्व हुन् । स्वदेशमा मात्र नभई विदेशमा समेत नेपालका शासकका रुपमा परिचित तिनै जंगबहादुरको बिहीबार श्राद्ध गरिएको छ ।

मृत्यु भएको एक सय ४० वर्षपछि पनि काठमाडौंको कालमोचन घाटमा उनको श्राद्ध हुँदै आएको छ । जंगबहादुरको श्राद्धको प्रबन्ध र व्यवस्थापन नेपाल सरकारको गुठी संस्थान काठमाडौं शाखाले गर्छ ।

Comments

comments