सप्तरी । एमालेको मेची–महाकाली अभियान दिउँसो २ः३० बजेतिर भारदह हुँदै सप्तरी प्रवेश गर्यो । अभियानको विरोध गर्दै आएका मधेसी मोर्चाका कार्यकर्ताहरुले शान्तिपूर्ण ढंगले सुरक्षा घेराबाटै भारदहमा कालो झण्डा देखाए । त्यसपछि कञ्चनपुरमा पनि मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाउँदा उक्त क्रममा प्रहरीले गरेको लाठीचार्जबाट तीन जना घाईते भए ।

अभियान करिव ४ बजेतिर सप्तरीको बसबिट्टी गाविसस्थित आमसभास्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश ग¥यो । त्यतिबेलासम्म सप्तरीको विभिन्न गाउँमा मोर्चाका कार्यकर्ताहरु विरोध गर्न सभास्थल नजिकै पुगिसकेका थिए ।

सभा सुरु भएपछि २ सय मिटर नजिकै गहुँ खेतबाट मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्न थाले । उक्त क्रममा पटक–पटक प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले लाठी चार्ज गर्यो । सोही क्रममा सद्भावना पार्टीका नेताहरु दिपेन्द्र चौधरी, किशोर यादव, लक्ष्मण यादवसहितका आधा दर्जन नेताहरुलाई प्रहरीले पक्राउ ग¥यो । करिव पौने ५ बजे मोर्चाका कार्यकर्ताहरुले सभास्थलको ठिक पूर्वतर्फ राजविराज–रुपनी सडक खण्डमा टायर बालेर प्रदर्शन गर्न थाल्यो । प्रहरीले उनीहरुलाई तीन घेरा हालेर रोकेर राखेका थिए । सोही क्रममा मोर्चामा कार्यकर्ता र प्रहरीबीच ढुंगा हानहान हुन थाल्यो ।

प्रहरीतर्फबाट एमाले समर्थित यूवा संघका कार्यकर्ताहरुले पनि मोर्चा कार्यकर्तामाथि ढुंगा प्रहार गरिरहेका थिए । एमाले अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्न थालेपछि थप आक्रोशित बनेका मोर्चाका कार्यकर्ताहरु अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीले सयौं राउण्ड अश्रु ग्यास प्रहार गर्यो । सोही क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अन्धाधुन्ध गोली चलाउन थाल्दा ३ जनाको मृत्यु र १२ जना गम्भिर घाईते भए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेपछि प्रहरीले गोली चलाएको बताएका छन् । प्रदर्शनकारीको ढुंगा लागेर दुई–तीन जना सुरक्षाकर्मीसमेत घाईते भएका छन् ।

Comments

comments