काठमाडौं । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शनिवारदेखि सुरु हुँदैछ । अभियानको लागि एमालेका सबै केन्द्रीय नेताहरु झापा पुगिसकेका छन् ।

‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावको’ नारा सहित झापाको काकडभिट्टाबाट सुरु हुने अभियान १५ दिन सम्म जारी रहनेछ ।

झापा क्रान्ति अन्तर्गत पक्राउमा परेका पाँचजनालाई तत्कालीन पञ्चायती सरकारले सुखानीमा हत्या गरेको दिन परेर एमाले शनिवारदेखि तराई केन्द्रित अभियान सुरु गर्न लागेको हो । अभियानको पहिलो दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको सुखानीमा शाहीको सालिकमा माल्यार्पण गर्नुहुनेछ । गरेपछि काँकडभिट्टाबाट अभियान सुरु हुने अभियान चैत ५ गते कञ्चनपुरको महेन्द्रनगरमा पुगेर टुंगिने एमालेले जनाएको छ ।

तराई मधेसको पूर्व–पश्चिम राजमार्ग केन्द्रित अभियानमा ३३ ठाउँमा आमसभा, र्याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । अभियानमा पार्टी अध्यक्ष सहित सबै केन्द्रीय नेताहरु सहभागी हुने र सबै नेतालाई पार्टी कार्यकर्ताकै घरमा खानपान र बस्ने व्यवस्था मिलाइएको छ । अभियानमा १० हजार स्वयंसेवक परिचालन हुनेछन् । ख्यातीप्राप्त राष्ट्रिय कलाकार र स्वास्थ्यकर्मीको टोली पनि सहभागी हुनेछन् ।

Comments

comments