मेलबर्न । महेन्द्रनगर घर भएका केशवराज पन्त हाल मेलबर्न अष्ट्रेलियामा बस्नुहुन्छ । सात समुद्रपारिको देश र यहाँको व्यस्त दैनिकीका वावजुद पनि उहाँ खेल क्षेत्रमा निकै सक्रिय हुनुहुन्छ । ३१ वर्षीय केशव हाल अष्ट्रेलियामा नेपाली समुदायको गोर्खाली क्रिकेट क्लबयारभिल्ले क्रिकेट क्लबबाट खेल्नुहुन्छ । उहाँ भन्नुहुन्छ –खेलले मानिसलाई समूहमा काम गर्न, अनुशासनमा रहन र समयको महत्व बुझ्न सिकाउँछ । प्रस्तुत छ हिमालयन कङ्गारुको स्पोर्टस् टकमा उहाँसंग गरिएको कुराकानी :

तपाईंको घर कहाँ हो ?

मेरो घर कञ्चनपुरको महेन्द्रनगर हो ।

अहिले कहाँ बस्नुहुन्छ ?

हाल म मेलबर्न,अष्ट्रेलियामा बस्छु ।

कुन खेल खेल्नुहुन्छ ?

म क्रिकेट खेल्छु ।

तपाईंको खेलको पोजिसन कुन हो ?

ओपनिङ मिडियम पेस बलर र मिडल अर्डर ब्याटिङ ।

कति वर्षको उमेरदेखि खेल्न थाल्नुभएको हो ?

म अठार वर्षको हुँदादेखि खेल्न थालेको हूँ ।

कुन टिमको लागि खेल्नुहुन्छ ?

अष्ट्रेलियाको नेपाली समुदायको गोर्खाली क्रिकेट क्लब र यारभिल्ले क्रिकेट क्लबको लागि खेल्छु ।

अरु कुनै टिमको लागि खेल्नुभएको छ ?

नेपालमा बैतडी क्षेत्र नम्बर ६,काठमाडौं क्षेत्र नं ३, क्लासिक कलेज, बालुवाटार क्रिकेट क्लब, पेन्टागन कलेजको लागि खेलें । अष्ट्रेलियामा प्रेस्टन हिमालयन क्रिकेट क्लबको लागि र इस्टर्न वारियर क्रिकेट क्लबको लागि पनि खेलेको छु ।

आफ्नो सबैभन्दा राम्रो प्रदर्शन ?

अष्ट्रेलियामा इन्टर स्टेट क्रिकेट च्याम्पियनशीपमा ५–१४ बलिङर ग्रेड क्रिकेटमा ब्याटिङ तर्फ ६६ नट आउट ।

क्रिकेट बाहेक अरु कुन खेल खेल्नुहुन्छ ?

भलिबल खेल्छु ।

जीवनमा रमाईलो र हाँसो उठ्दो क्षण ?

सन् २००५ तिर, म जतिबेला पनि क्रिकेट खेल्थें । मेरो यो बानीले मम्मी दिक्क भएर मेरो क्रिकेट बल नै जलाईदिनुभयो । त्यसपछि बल्ल अलि कम गरें । त्यो समय सम्झिँदा अहिले पनि हाँसो उठ्छ ।

जीवनको लज्जास्पद क्षण ?

धनागढ़ीमा भएको खेलमा फिल्डिङको क्रममा दर्शकहरुको अगाडी मेरो ट्राउजर झरेको थियो ।

तपाईंलाई मनपर्ने,

खाना ?

मःम ।

गीत ?

पूराना नेपाली गीतहरु, विशेष गरि “गाजलु ती ठूला ठूला आँखा“ ।

टी.भी शो ?

क्रिकेट बाहेक अरु केही हेर्ने बानी छैन ।

चलचित्र ?

सलमान खान अभिनित सबै चलचित्रहरु । म सलमान खानको ठूलो फ्यान हूँ ।

स्पोर्टस् टिम ?

क्रिकेट टिममा साउथ अफ्रिकाको टिम र टेबल टेनिसमा नोवक द्जोकोविक ।

खेलाडी ?

नोवक जोकोविक र फफ दु प्लेस्सिस ।

खेल ?

साउथ अफ्रिकाले अष्ट्रेलिया विरुद्ध ४३४ रनको लक्ष्य पछ्याएको खेल ।

अष्ट्रेलियामा अध्ययन गर्दै हुनुहुन्छ ?

छैन ।

तपाईंको विचारमा,

सबैभन्दा प्रतिभावान खेलाडी ?

सुदर्शन रिजाल ।

जोकर अफ द टीम?

बिनोद भण्डारी ।

द लाउड माउथ ?

निराकार बराल ।

मेहनति खेलाडी ?

सुमन सिंह ।

सबैभन्दा अल्छी खेलाडी ?

सुनिल थापा ।

गर्व गर्न लाएक खेलाडि  ?

सुनाम गौतम ।

मानिसको जीवनमा खेलले कस्तो भूमिका खेल्दछ ?

खेलले तन्दुरुस्त राख्छ र समाजमा घुलमिल हुने अवसर दिन्छ । खेलले मानिसलाई समूहमा काम गर्न, अनुशासनमा रहन र समयको महत्व बुझ्न सिकाउँछ ।

यहाँको नेपाली समुदायबीच क्लब खेलको स्थिति कस्तो छ ? खेलाडीहरुलाई प्रोत्साहन गर्न के गर्नुपर्ला?

खेलको स्तर बढिरहेको छ र यहाँ धेरै नयाँ क्लबहरु पनि जन्मिएका छन् । यसले नेपाली समुदायबीचमा खेलको भविष्य सुन्दर देखाएको छ । नेपाली समुदायका खेलाडीहरु धेरैजसो विद्यार्थीहरु छन् र सबै नेपालीहरु यहाँ आफ्नो जीवन निर्वाहको लागि संघर्षरत छन् । त्यसैले खेल आयोजकहरुले जतिसक्दो धेरै प्रायोजकहरु खोजेर खेलाडीहरुलाई पुरस्कार तथा प्रोत्साहन दिनु जरुरि छ । त्यस्तै नेपाली समुदायको नियमित जमघट हुन सक्यो भने खेलका कार्यक्रमहरु थप संख्यामा, व्यवस्थित तथा सफल हुनुको साथै नयाँ प्रतिभाहरुले अवसर पाउन सक्छन् ।

अष्ट्रेलियाको व्यस्त दैनिकीका बावजुद कसरी खेलको लागि समय छुट्टाउन सक्नुभएको छ ?

म कामबाट पाउने छुट्टीको दिन खेल्ने गर्छु र यदि महत्वपूर्ण खेल भएमा कामको दिनमा पनि बिरामी बिदा वा वार्षिक बिदामध्येबाट कामबाट छुट्टी लिन्छु ।

नेपालको खेलकुद स्थितिको बारेमा तपाईंको धारणा के छ ?

केही वर्षयता नेपाली क्रिकेटमा प्रगति भईरहेको देखिन्छ । क्यानको तर्फबाट केही प्रभावकारी कदम नचालिएपनि दर्शक, खेलाडीहरु र केही नीजी क्षेत्रबाट क्रिकेटलाई माथि उठाउने काम भईरहेको छ । भर्खरै सम्पन्न धनगढी क्रिकेट लिगलाई पनि यसको उदाहरण मान्न सकिन्छ ।

नेपालमा खेलकुदका समस्याहरु के हुन् जस्तो लाग्छ ?

क्यान एकदम सुस्त छ । एक दुई राष्ट्रिय खेल बाहेक क्यानले अरु खेलहरु आयोजना गरेको छैन । क्यान अन्तर्गत १९ वर्ष मुनिको समूहको लागि कुनै कार्यक्रम छैन ।  क्यानले क्रिकेटलाई माथि उठाउन आफ्नो दायित्व पूरा गर्दै मूख्य भूमिका निर्वाह गर्नुपर्छ । क्यानले निरन्तर रुपमा कार्यक्रमहरुको आयोजना गर्नुपर्छ । जुनियर समूहलाई विभिन्न सम्मान दिंदै खेलप्रति प्रोत्साहन गर्नु जरुरि छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments