मेलबर्न । बहुप्रतिक्षित लुट २ चलचित्रको अष्ट्रेलिया प्रदर्शनमा प्राविधिक समस्या देखिएको छ ।

शुक्रवार र शनिवारका लागि तय गरिएको लुट २ को सिड्नी प्रदर्शन प्राविधिक समस्याका कारण हुन नसकेपछि सिड्नीका नेपाली दर्शकहरु निराश बने । उनीहरुले झण्डै एक महिनाअघिदेखि टिकट बुकिङ गरेका थिए । अन्तिम समयमा प्राविधिक समस्या देखाइ चलचित्र प्रदर्शन रद्द गरिएपछि दर्शकहरु केही आक्रोशित भएका थिए ।

शुक्रबार सिड्नीको जर्जस्ट्रीटस्थित ईभेन्ट सिनेमामा प्रदर्शनको समय मिलाइए पनि प्रदर्शन हुन सकेन । शनिबार बरउडको ईभेन्ट सिनेमामा देखाउने भनिएको चलचित्रको शो पनि एक घण्टा अघि रद्द गरिएपछि दर्शकहरु समस्यामा परेका थिए । लुट २ को अष्ट्रेलियाको वितरण जिम्मा हो र होइन होला ईभेन्टले लिएको छ । ईभेन्ट कम्पनीका रोशन भट्टराईले चलचित्रको ओभरसिज वितरक कम्पनी हाईलाईट्स नेपालले सम्झौता उल्लंघन गरेको भन्दै आपत्ति जनाउँनुभयो । सिनेमा प्रदर्शनको पाँच दिन अघिबाट प्रयास गरिएपनि अन्तिम समयसम्म चलचित्रको फाईल चल्न नसक्दा सिड्नीको प्रदर्शन रद्द गर्नपरेको बताउँनुभयो ।

हाईलाईट्स नेपालका निर्देशक ओम गुरुङले कमी कमजोरी स्वीकार्दै यसअघि अष्ट्रेलियाबाट आफ्ना दुई सुपरहिट चलचित्रहरुको पाईरेसी भएका कारण अपनाइएको थप सुरक्षाले यस्तो अवस्था आएको स्पष्टीकरण दिनुभयो । चलचित्र लुट २ पठाउँदा अपनाइएको थप सुरक्षा बारेको प्राविधिक कुरालाई बुझाउन नसक्दा यस्तो भएको उहाँको स्वीकारोक्ति थियो ।

गुरुङले सिड्नीमा लुट २ प्रदर्शन नभएका कारण दुःखी बनेका दर्शकहरुको रकम फिर्ता गरिदिने बताउँनुभयो । साथै ती दर्शकहरुका लागि अलग्गै निःशुल्क शोको समेत व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार २६ तारिख आईतबारदेखिका शोहरु भने यथावत सञ्चालन हुनेछन् । पर्थको शोका लागि पठाइएको फाईल हलमा नै परीक्षण गरिसकिएको छ भने डीसीपी फाईल नेपालबाट पनि पठाइएको छ ।

अष्ट्रेलियामा लुट चलचित्रको प्रदर्शनमा समस्या देखिएपछि यसका निर्देशक निश्चल बस्नेतले एक भिडियो सार्वजनिक गर्दै आम दर्शकहरुसँग माफी मागेका छन् । उनले प्राविधिक समस्याका कारण उत्पन्न परिस्थितिका वावजुद नेपाली चलचित्रलाई सदाझैं माया प्राप्त हुने अपेक्षा पनि गरेका छन् ।

उता चलचित्र प्रदर्शनको बेला नायिका ऋचा शर्मा अष्ट्रेलिया आउने कार्यक्रम पनि रद्द भएको छ । उनको भ्रमण व्यक्तिगत कारण देखाउँदै अन्तिम समयमा आएर रद्द भएको थियो ।

यसैबीच लुट २ चलचित्र मेलबर्नमा आइतवार साँझ प्रदर्शन गरिदैछ । चाईना टाउनस्थित सिनेमा हलमा प्रदर्शन गर्न लागिएको लुट २ को प्राविधिक परीक्षण सम्पन्न भैसकेकोले यथावत रुपमै शो शुरु हुने मेलबर्नमा प्रदर्शन जिम्मेवारी लिएको नेप्ले ईभेन्टले जनाएको छ । नेप्ले ईभेन्टका सञ्जय साहका अनुसार हलमा चलचित्रको परीक्षण भइसकेको छ । साथै, नेपालबाट पठाइएको डीसीपी फाईल पनि व्याकअपको रुपमा ल्याउने तयारी गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments