सोलुखुम्बु । गल्ती नै नहुँदा पनि जेल बस्नु पर्छ, त्यो पनि एक वर्ष–दुइवर्ष होइन, पुरै साढे ८ वर्ष । कति पीडा होला यसरी जेल बस्नेलाई ?

यस्तै पीडा सहनेमा उदाहरण हुन् सोताङका ७३ वर्षीय भूपध्वज बस्नेत र ६३ वर्षीय नइन्द्रबहादुर राई । विसं २०६५ असोज १३ गते सोताङकै लोकबहादुर विश्वकर्माको गोली हानी हत्या गरेको आरोपमा जेलमा रहेका उनीहरु गत बुधबार सर्वोच्च अदालतले निर्दोष रहेको फैसला गरेपछि बिहीबार जेलमुक्त भएका छन् ।

बिहीबार जेलमुक्त भएपछि दुई वृद्धले हत्यासँग कुनै सम्बन्धसमेत नभएका आफूहरुलाई अनाहकमा साढे ८ वर्ष जेल राखेको भन्दै दुखेसो गरे ।

कर्तव्य ज्यानको कसुरमा २०६५ साल कात्तिक ७ गते जिल्ला अदालत सोलुखुम्बुको आदेशमा दोषी ठहर्दै सोताङका दीपेन्द्र नाछिरिङ, केदार नाछिरिङसँगै भूपध्वज बस्नेत र नइन्द्रबहादुर राई पनि जेल चलान भए ।

दीपेन्द्र र केदार अदालतको आदेशमा मौन रहेपनि २० वर्ष कैद सजाय पाएका ७३ वर्षीय भूपध्वज र ६३ वर्षीय नइन्द्र राई न्यायका लागि पुनरावेदन अदालत राजविराज गए । पुनरावेदन अदालतले पनि भूपध्वजलाई ज्येष्ठ नागरिक भएवापत ५ वर्ष सजाय कम गर्नेबाहेक जिल्ला अदालतकै फैसलालाई सदर ग¥यो ।

पुनरावेदनबाट पनि न्याय नपाएको महसुस गरे । भरुवा बन्दुक प्रयोग गरी कर्तव्य गरिएको कसुरमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि सजाय भोग्नुपर्दा छट्पटिएका भूपध्वज र नइन्द्र न्यायका लागि अन्तिम बिन्दु सर्वोच्च अदालतको शरणमा पुगे । उनीहरुले सर्वोच्च धाएको ४ वर्षपछि बुधबार फैसला भयो । सर्वोच्चले निर्दोष रहेको ठहर गरेपछि उनीहरु ८ वर्ष ६ महिना अनाहकमा जेल जीवन बिताएर बिहीबार बाहिरिएका छन् ।

बस्नेतसँगै जेल परेका ६३ वर्षीय राईले गुमेको खुसी सर्वोच्चले फेरि फर्काइदिएको बताउनुभयो । परिवारसँग बसेर आरामसाथ जीवन जिउने बेलामा अनाहक जेलको चिसो सहनु मात्र हैन अदालत धाउँदा १२ लाख रुपैयाँ सकिएको भन्दै बस्नेतले प्रश्न गर्नुभयो, ‘हामीले अनाहकमा जेल बसेको र लागेको खर्च कसले बेहोर्छ ?’ रासस

 

Comments