सरकारले आगामी मङसिर १० र ११ गते काठमाडौमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन सार्कको १८ औँ शिखर सम्मेलनको तयारी तीब्र रुपमा अगाडि बढाएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सम्मेलन तयारी एवम् व्यवस्थापनका लागि नौ सदस्यीय राष्ट्रिय मूल समिति गठन गरिएको छ । यसका अतिरिक्त सरकारले विषयगत समिति, अन्य उपसमितिका साथै सल्लाहकार समिति पनि गठन गरेको छ ।

राष्ट्रिय मूल समितिले शिखर सम्मेलन सम्बन्धी नीतिनिर्माण गरी सोहीअनुसार विषयगत समिति तथा उपसमितिलाई निर्देशन दिन तथा तिनको समयबद्ध कार्ययोजना तर्जुमा गराई कार्यान्वयन गर्न र तिनले सम्पादन गरेका कार्यप्रगतिको सुपरीवेक्षण एवम् समीक्षा गरी आवश्यक निर्देशन दिनेछ ।

राष्ट्रिय मूल समितिका सदस्यमा उपप्रधानमन्त्रीद्धय वामदेव गौतम र प्रकाशमान सिंह, अर्थमन्त्री डा रामशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, सहरी विकासमन्त्री डा नारायण खड्का, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र मुख्यसचिव लीलामणि पौड्याल रहनुभएको छ ।

Comments