काठमाडौं । संविधान संशोधन प्रस्तावमा सहयोग गर्न सरकारले गरेको आग्रह एमालेले अस्वीकार गरेको छ । तर बुधबारदेखि संसदमा संशोधन प्रस्ताव अघि बढ्न दिने विषयमा भने एमाले लचिलो बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलवार बसेको सर्वदलीय बैठकमा एमालेले संशोधन प्रस्तावमा आफ्नो अडान कायमै रहेको बताएको हो । तर निर्वाचनको विषयमा भने सरकारलाई पुरै सहयोग गर्ने एमालेले जनाएको छ ।

निर्वाचनमा आम सहमति भएको भन्दै प्रधानमन्त्री दाहालले मोर्चाको मागलाई सम्बोधन गरेर अगाडि बढ्ने बताउनुभयो । वैठकमा मधेसी मोर्चाको मागलाई सम्बोधन गर्नुपर्छ भन्नेमा सबैको सहमति भएको बताउँदै प्रधानमन्त्री दाहालले सहमति कसरी जुटाउने भन्नेमा भने फरक मत रहेको जानकारी दिनुभयो । उहाँले बुधवारदेखि संसदमा संशोधन प्रक्रिया अगाडि बढ्ने दाबी गर्नुभयो ।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले घोषणा गरेको निर्वाचन अत्यन्त सान्दर्भिक र स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो । उहाँले निर्वाचनका लागि एमाले सरकारलाई सहयोग गर्न पूर्ण रुपमा तयार रहेको बताउनुभयो । तर निर्वाचनमा सरकार अझै प्रष्ट हुनुपर्ने उहाँको कथन थियो । एमाले अध्यक्ष ओलीले मोर्चा पनि सहमतिमा आउँने विश्वास व्यक्त गर्नुभयो ।

वैठकमा मधेसी मोर्चाका नेताहरु भने सहभागी थिएनन् । सरकारले आफूहरुका माग अटेर गरि स्थानीय चुनावको मिति घोषणा गरेको भन्दै मोर्चाका नेताहरुले बैठकमा उपस्थिति नजनाएका हुन् ।

Please follow and like us:

Comments