नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तोकिएकै समयमा मुलुकले नयाँ संविधान पाउने बताउनुभएको छ ।

राजविराजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता नेपालले दलहरुको बीचमा संविधानका अन्तरवस्तुहरुको विषयमा गम्भीर रुपमा छलफल जारी रहेकाले माघ ८ गतेभित्रै नेपाली जनताले सङघीयतासहितको संविधान पाउने जिकिर गर्नुभयो ।

संविधान निर्माणका आधारहरु तयार भइसकेको भन्दै उहाँले दलहरुबीच असमझदारी नभए निर्धारित समयमै संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो । सहमतिकै आधारमा संविधान निर्माणमा सबैको जोड रहे पनि सहमतिमा संविधान बन्ने आधार निर्माण नभए प्रक्रियामा प्रवेश गरेर भए पनि संविधान बन्ने उहाँको भनाई थियो ।

संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतको निर्वाचन हुनुपर्ने बताउनुहुँदै उहाँले संविधान निर्माणमा दलहरु प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

Comments