काठमाडौं । सरकारले सोमवार स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ । निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने निर्णय सरकारले गरेको हो ।

संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गर्दै सरकारले सोमवार नै चुनावको मिति घोषणा गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

चुनावको मिति टुंगो लगाउन प्रधानमन्त्रीले आइतवार साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गर्नुभएको थियो । आयोगले दुई चरणमा मतदान गर्ने गरी जेठ १ र २१ को मिति प्रस्ताव गरेको पनि स्रोतले जनायो । तर सत्तारुढ दलहरुले भने वैशाखभित्रै एकैचरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने सहमति गरेका छन् ।

निर्वाचन सम्पन्न गर्न समय घर्कदै गएपछि सरकार निर्वाचनको मिति तोक्ने निष्कर्षमा पुगेको हो ।  निर्वाचन आयोगले ढिलोमा फागुन ८ भित्र निर्वाचन मिति घोषणा गरे मात्र जेठमा निर्वाचन सम्भव हुने बताउँदै आएको छ । आयोगको भनाइपछि दबाबमा परेको सरकार सोमवार नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेको हो ।

आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतहरुको बैठकले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने र संशोधन प्रक्रिया पनि अगाडि बढाउने सहमति गरेका हुन् ।  साथै मधेसी मोर्चाको असन्तुष्टि मत्थर पार्नका लागि मधेसमा स्थानीय तहको संख्या बढाउने सहामति पनि वैठकले गरेको छ ।

कांग्रेस माओवादी केन्द्रको बैठकले स्थानीय निकाय पुनर्संरचना आयोगसँग छलफल गरी मधेसमा स्थानीय तहको केही संख्या थप्ने निर्णय गरेको हो ।  मधेस केन्द्रीत पार्टीहरुले निर्वाचन अघि संविधान संशोधनका साथै पहाड तथा मधेसका स्थानीय तहको संख्या जनसंख्याको आधारमा तोक्नु पर्ने पनि माग राख्दै आएका छन् ।

तराईका २० जिल्ला र पहाड तथा हिमालका ५५ जिल्लामा जनसंख्याका झन्डै आधिआधि रहे पनि स्थानीय तहको संख्या भने पहाड तथा हिमालमा धेरै छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार साँझ नै मधेसी मोर्चासँग पनि छलफल गर्नुभएको छ । छलफलमा मधेसी मोर्चाले आधारभूत अडान नत्यागे पनि वैशाखभित्र निर्वाचन सम्पन्न गर्ने सरकारको निर्णयमा अनौपचारिक सहमति जनाएको निकटस्थ स्रोतले जनाएको छ ।

Please follow and like us:

Comments